चीर ठड्याएसँगै यसवर्षको फागु पर्व शुरु

भक्तपुर, चैत्र ४
यस वर्षको रंग र खुसियालीको पर्व फागु आइतवारदेखी शुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाण्डौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
यस्तै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर फागु पर्व शुरु भएको जनाउ दिने गरिन्छ ।
भक्तपुरमा भने पृथक शैलीमा फागु पर्व शुरु भएको जनाउ दिईन्छ । यहाँ तचपालस्थित भिमसेन मन्दिरको पाटीमा काठको बडेमानको पुरुष जनेन्द्रिय अंग (लिंग) प्रदर्शन गरी फागु पर्व सुरु भएको जनाउ दिने परम्परा रहेको छ ।
भक्तपुरमा फागु पर्वको शुरुवाट भएको जनाउन भिमसेन मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखी तीन हात लामो, ३० ईन्च गोलाईको काठको बडेमानको लिंग प्रदर्शनमा राखिन्छ । लिंगसँगै यौन समागमनको दृष्य झल्कनेगरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिंग प्रवेश गराईएको हुन्छ ।
भक्तपुरबासीले सो काठको लिंगलाई भिमसेनको लिंग र रातो कपडालाई द्रौपदीको योनीको रुपमा लिईन्छ । मन्दिरभित्र रहने सो लिंगलाई फागु पर्वको अवसरमा वर्षको सात दिन प्रदर्शन गर्ने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो । “पहिला पहिला लिंगको प्रतिक एउटा काठको मुढा मात्र राख्ने परम्परा थियो । पछि यो खुल्ला रुपमा यसरी प्रर्दशनमा ल्याएको हो,” उहाँले भन्नुभयो ।
बसन्त क्रतुको आगमनसँगै फागुपर्वलाई भक्तपुरमा सृष्टिलाई अभिप्रेरित गर्ने पर्वको रुपमा मनाइन्छ । यो समय कामदेव आफै सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति उपयुक्त समय हो भन्ने मुख्य सन्देश यसले दिएको उहाँको भनाई छ ।


लिंगलाई प्रदर्शनमा राखिनु अघि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरी रहेको घर र पसलहरुमा घुमाउने परम्परा छ । घर र पसलमा घुमाउन ल्याएको लिंगको पुजाआजा गरी दर्शन गर्नाले व्यापार व्यवसायमा उन्नती प्रगती हुने जनविश्वास रहेको छ । त्यसैले पाटीमा प्रदर्शनमा राखिएको लिंगको दर्शनका लागि फागु पुर्णिमासम्म भक्तजनको घुईंचो समेत लाग्ने गर्दछ ।
फागु पूर्णिमाको दिन साँझपख सो लिंगलाई एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखे पछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिंग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती रहेको पाईन्छ ।
यसरी लिंग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखी शुरु भएको हो भन्ने एकिन तथ्य फेला परेको पाईंदैन । यद्यपी भिमसेनको मन्दिर राजा जगतप्रकाश मल्लले १७ औँ शताब्दीमा निर्माण गरेको इतिहास पाईएकाले यो प्रचलन पनि सोही समयदेखी प्रचलनमा आएको अनुमान गरिएको छ ।