भक्तपुरको सल्लाघारीमा सत्गुरु माता सुदीक्षाजी महाराजले दुई दिन प्रवचन दिने

भक्तपुर, चैत्र २
सन्त निरंकारी मिशनका सत्गुरु माता सुदीक्षाजी महाराजले भक्तपुरको सल्लाघारीमा दुई दिन प्रवचन दिने भएको छ । सन्त निरंकारी मण्डल नेपालले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको २३ औं निरंकारी सन्त समागम नेपाल कार्यक्रममा सुदीक्षा महाराजले यही चैत्र ३ र ४ गते प्रवचन दिने भएको हो ।
२३ औं निरंकारी सन्त समागममा भारतबाट मात्र ९ हजार भन्दा बढीको सहभागिता रहने र नेपालका विभिन्न जिल्ला र विशिष्ट एवम् अतिविशिष्ट अधिकारीसहित करिव ५ हजारको सहभागिता रहने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
समागममा निरंकारी प्रदर्शनी मार्फत समागमको महत्व, कल्याण यात्रा, विश्वमा सन्त निरंकारी मिशनद्धारा समाज कल्याणको क्षेत्रमा भइरहेको गतिविधि, नेपालमा मिशनको इतिहास लगायतका विविध विषय प्रस्तुत गरिने आयोजक समितिका अध्यक्ष नर बहादुर रावलले बताउनुभयो । यसका साथै प्रकाशन विभागद्धारा स्टल लगाईने छ जसमा मिशनको साहित्य, फोटो, डायरीका साथै विभिन्न भाषामा प्रकाशित पुस्तकहरु उपलब्ध रहने छन ।
समागमको तयारीका लागि १ हजार २०० सेवादल सदस्य (स्वयंसेवक) खटाइएको अध्यक्ष रावलले बताउनुभयो । उहाँका अनुसार समागमका सहभागीलाई निःशूल्क खाने बस्ने व्यवस्था, यातायात, पानीको व्यवस्था गरिएको छ । समागममा आएका श्रद्धालुहरुलाई सल्लाघारीमा नै अस्थायी बसोबास स्थल निर्माण गरिएको छ । साथै सुपथ मूल्यको क्यान्टिन समेत सञ्चालन गरिएको रावलले जानकारी दिनुभयो ।


समागममा सहभागीहरु आफ्नै नीजि खर्चमा आउने र कार्यक्रममा लागि पनि सहभागीहरुले नै गच्छे अनुसार स्वईच्छाले गरेको आर्थिक सहयोगले सञ्चालन हुने जानकारी दिँदैं रावलले नेपालका तीन वटै तहका सरकार र अन्य संघसंस्थाहरुसँग कुनै पनि प्रकारको आर्थिक सहयोग नलिएको दावी गर्नुभयो ।
समागमका लागि सल्लाघारीको करिव १०९ रोपनीको चउरको सरसफाईदेखी सो स्थानमा आवश्यकता अनुसारको भौतिक निर्माणमा स्वयम्सेवकहरुले स्वईच्छाले श्रमदान गरेको बताउँदैं निरंकारी मण्डलका उपत्यका क्षेत्रीय सञ्चालक बाबुराज महर्जनले समागमको समापनपछि पनि सल्लाघारीको चउरलाई पूर्णरुपमा सरसफाई गरेर मात्र छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दुई दिने समागमका लागि सल्लाघारीमा ठूला ठूला पाण्डलसहितको संरचना निर्माण गरिएको छ । जहाँ सहभागी हजारौंको संख्यालाई आवास, शौचालय निर्माण गर्नुका साथै प्रवचन हल, अतिथी सत्कार हललगायतका विभिन्न संरचना निर्माण गरिएको छ ।
कार्यक्रम स्थललाई निरंकारी मण्डलको स्वयम् सेवक दस्ताले सुरक्षा दिईरहेको छ । भारतीय प्रहरीको जस्तै खैरो रंगको विभिन्न पद चिन्हसहितको बर्दी लगायतका स्वयम् सेवक दस्ताले सल्लाघारी क्षेत्रको सरसफाई गर्नुका साथै कार्यक्रम स्थलको व्यवस्थापनको समेत कार्य गरिरहेको छ ।
सन्त निरंकारी मिशन कुनै धर्म, जातसँग सम्बन्धीत नभई विशुद्धरुपमा आध्यात्मिक विचारधारा रहेको सन्त निरंकारी मिशनका अध्यक्ष विनोद भोहराले बताउनुभयो । उहाँले मिशनको कुनै धर्मग्रन्थ नभएको र सबै धर्मगन्थ नै यसको मूल आधार रहेको जानकारी दिनुभयो ।
“सन्त निरंकारी मिशनले विभिन्न विचारधाराहरुमा आस्था राख्ने संसारका सबै मानवहरुको सम्मान गर्दछ । निराकार परमात्मालाई जान्नु नै मानव जीवनको मूल उद्देश्य हो,” उहाँले भन्नुभयो ।
सन् १९२९ मा बाबा बूटा सिंहले पेशावरबाट आरम्भ गरेको निरंकार मिशनको प्रचार नेपालमा वि. सं. २०२० मा सुदुरपश्चिमको अछामबाट शुरुवात भएको बताईएको छ । नेपालमा २०४७÷०४८ मा काठमाण्डौं जिल्ला प्रशासनमा दर्ता भएर हाल यो संस्था ३९ जिल्लामा बिस्तार भएको १२५ स्थानमा सत्संघ भवन रहेको सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष रावलले बताउनुभयो ।
नेपालमा सन्त निरंकारी मण्डलको स्थापनाकालदेखी भूकम्प पिडितलाई राहत, अमृत प्रोजेक्टको माध्यमबाट नदी नाला, मसानघाट, पिकनिक स्थलको सरसफाई अभियानलाई निरन्तरता दिँदैं आएको रावलले बताउनुभयो । यस्तै रक्तदान अभियानलाई अगाडि बढाउँदैं रगत नालीमा होइन, नाडीमा बगाऔं भन्ने नारालाई साकार पार्दै विभिन्न समयमा रक्तदान शिविरको आयोजना गर्दै आइरहेको बताईएको छ ।