आइसीसी प्रमुख नेपाल आउने

भक्तपुर, चैत्र १
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का प्रमुख ग्रेग बार्कले अर्को साता नेपाल आउने भएको छ । बार्कले मार्च १८ मा चार दिने नेपाल भ्रमणको लागि आउन लागेको हो ।
भ्रमणका क्रममा बार्कलेले टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालाको अवलोकन गर्नु हुने छ । साथै प्रधानमन्त्री, अर्थ मन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटको विकास र आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ ।
बार्कलेले नेपाल भ्रमणका लागि आफू उत्साहित रहेको बताएका छन् । ‘म नेपालमै आएर यहाँको क्रिकेट विकास हेर्न उत्साहित छु । क्यानले क्रिकेटमा सहभागिता र खेलको चर्चा बढाउन राम्रो भूमिका खेलेको छ । यसको प्रभाव सिनियर पुरुष टोलीले विश्वकप छनोट भएर देखाएको छ” बार्कलेले भने ।
नेपाल क्रिकेट संघ (क्यान)ले बार्कको भ्रमण नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन महत्वपूर्ण कदम हुने विश्वास गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले बार्कलेको भ्रमणलाई लिएर उत्साहित रहेको र यसले नेपाली क्रिकेटको भविष्य अझ राम्रो गर्नेमा आशावादी रहेको बताए ।