चैत्र २४ गते भक्तपुरमा ‘बागमती प्रदेश स्तरीय पहिलो धिमेबाजा प्रतियागिता’ हुने

भक्तपुर, चैत्र २
भक्तपुरमा पहिलोपटक ‘बागमती प्रदेश स्तरीय पहिलो धिमेबाजा प्रतियागिता’ हुने भएको छ । भक्तपुरको दत्तात्रयमा यही चैत्र २४ गते हुने एक दिवसीय सो प्रतियोगिता भक्तपुर जिल्ला मानन्धर युवा संघको संयोजन, काठमाण्डौं महानगरपालिकाको सहकार्यमा केन्दीय मानन्धर संघको आयोजनामा हुने भएको हो ।
प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा बागमती प्रदेशका कुल ५० वटा धिमे बाजा खलः, पुचः वा समूहलाई सहभागिता गराईने जानकारी दिए । प्रतियोगितालाई व्यवस्थित तरिकाले सञ्चालन गर्न र एक दिनमा प्रतियोगिता सम्पन्न गर्नुपर्ने भएकाले बढीमा ५० वटा टोलीलाई प्रतियोगितामा सहभागिता गराईने तयारी रहेको आयोजक समितिका अध्यक्ष मनोज मानन्धरले बताउनुभयो ।
“प्रतियोगितामा धेरै टोली समावेश गर्दा एक दिनमा सम्पन्न गर्न नसकिने र व्यवस्थापकीय हिसाबले पनि असहज हुने भएकाले ५० वटा टोली मात्र सहभागी गराउने निर्णय भएको हो,” उहाँले भन्नुभयो, “अन्यथा होइन ।”
प्रतियोगितामा प्रथम हुने टोलीलाई पुरस्कार स्वरुप २ वटा धिमे, २ जोर भुछ्याँ र नगद रु २५ हजार, दोस्रो हुनेलाई १ वटा धिमे, १ जोर भुछ्याँ र नगद रु १५ हजार, तेस्रो हुनेलाई १ वटा धिमे र नगद रु १० हजारबाट प्रदान गरिने छ । चौंथोदेखी दशौं स्थान हासिल गर्ने टोलीलाई १÷१ जोर भुछ्याँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट भेषभुषा र बाजाको बोलमा गरिएको हाउभाउको सम्मेत मुल्यांकन गरि पुरस्कार दिने ब्यवस्था गरिएको छ । जसअनुसार प्रतियोगी समूह मध्ये भेषभुषामा सबैभन्दा राम्रो हुनेलाई उत्कृष्ट भेषभुषा र बाजाको बोल अनुसारको हाउभाउ प्रदर्शनको आधारमा उत्कृष्ट हाउभाउको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको नियम अनुसार प्रतियोगी टोलीले धिमे बाजाको बोली बाहेक अन्य बोलमा बाजा बजाउन पाउने छैन । प्रत्येक टोलीलाई ५ मिनेटको समय प्रदान गरिने छ । ४ मिनेट पछि जनाउ घण्टी बज्ने छ । निर्धारित समयमा सम्पन्न नगरे सोही अनुसार अंक कटौती गरिने छ ।


प्रतियोगी टोलीमा चार जना रहने र सहभागीले धिमे २, भुछ्या १ र सिछ्या १ थान बजाउन पाईने छ । प्रतियोगितामा बोल वा ताललाई ५० अंक, भेषभुषामा १५, हाउभाउमा २०, अनुशासनमा १० र समयमा ५ अंक भार रहेको छ ।
प्रतियोगितामा सहभागी टोली मध्ये काठमाण्डौं उपत्यका बाहिरको टोलीलाई आयोजकले बसोबासको व्यवस्था गरिएको छ । प्रतियोगितामा ९ लाख रुपैंया खर्च हुने अनुमान गरिएको अध्यक्ष मनोजले बताउनुभयो ।
नेवाः समुदायको पहिचानको रुपमा रहेको धिमेबाजा संरक्षण तथा प्रवद्र्धन गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
प्रतियोगिताको प्रचार प्रसारको लागि केन्द्रीय मानन्धर संघले मकवानपुरको हेटौंडा, चितवनको नारायणघाट, सिन्धुपाल्चोकको चौतारामा कार्यक्रम आयोजना गरेको र ती स्थानबाट समेत सहभागिता सुनिश्चित भएको उहाँले जानकारी दिनुभयो । धिमे बाजा प्रतियोगिता मानन्धर संघले नेवाः संस्कृति, बाजागाजा, जात्रापर्वको संरक्षणको लागि गरिएको कार्यको निरन्तरता भएको उहाँले बताउनुभयो ।
संघले विगतमा बाँसुरी बाजा, खिँ, धा बाजाको प्रतियोगिता गरिसकेको जानकारी दिँदैं भक्तपुर जिल्ला मानन्धर युवा संघका अध्यक्ष बाबुकाजी मानन्धरले यही चैत्र १० गते मध्यपुर थिमिको बालकुमारीमा नौ बाजा प्रदर्शन समेत गरिने बताउनुभयो ।
प्रतियोगितामा सहभागीताको लागि फारम बुझाउने समय २०८० चैत्र १६ गते शुक्रवारसम्म रहेको छ । सहभागिताको लागि फारम पाईने स्थनहरु काठमाण्डौको लागि केन्द्रिय मानन्धर संघ क्षेत्रपाटी काठमाण्डौं ९८५१०३३२२७, भक्तपुरको लागि मानन्धर व्यायम मन्दिर साकोलान ९८४१२८५६८४, थिमिको लागि टि.भि. प्वाईट शंखधर चोक ९८५१०६७७३० र बनेपाको लागि वांख्यो दाफा भजन खलः बनेपा ९८४१९५८८९६मा सम्पर्क राख्न सकिने व्यवस्था गरिएको छ ।