डा. महतले भने, “प्रधानमन्त्रीले झुट बोले”

भक्तपुर, फागुन २८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोड्नुमा आफूलाई पनि कारक ठानेपछि तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत स्पष्टीकरण दिँदैं प्रचण्डले झुटो बोलेको आरोप लगाउनुभएको छ ।
उहाँले सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा कांग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको दावी समेत गर्नुभयो । उहाँले राज्य स्रोतमा मितव्ययिता अपनाएको र प्रधानमन्त्रीबाट आएका केही अनुचित प्रस्तावमा बजेट दिन इन्कार गरेको जिकिर गर्नुभयो ।
“अर्थमन्त्रीले प्रधानमन्त्रीलाई सहयोग गरेन भन्ने झुट हो,” महतले भन्नुभयो, “के गर्न सम्भव छ, के छैन भनेर प्रष्ट कुरा राखिएको थियो । त्यसबेला ती विषयमा प्रधानमन्त्री पनि समझदार हुनु भएको थियो ।”
सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएकाहरुलाई मन्त्रिपरिषदबाट शहीद घोषणा गर्ने निर्णयमा असहमति रहेको र प्रमाणीकरणमा नपरेका लडाकुलाई आर्थिक प्याकेज दिन अस्वीकार गरेको महतको भनाइ छ ।


सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका र ज्यान गुमाएकाहरुलाई आर्थिक सहायता दिने विषय एउटा कार्यदलले टुंग्याइसकेको बेला प्रधानमन्त्रीले फेरि त्यही विषय उठाएको महतले बताउनुभयो । त्यस्तै शहीद घोषणामा पनि प्रधानमन्त्रीले केही छुटपुट रहेको भन्दै मन्त्रिपरिषदमा ल्याए पनि धेरै ठूलो संख्या देखिएको उनको भनाइ छ ।
मन्त्रिपरिषद बैठकले गरेको निर्णयका आधारमा गत शुक्रबार २६७४ जना शहीदको नाम राजपत्रमा प्रकाशित गरिएको छ । “केही छुट भएछ भन्ने कुरा होे । अहिले आउँदा त २६÷२७ सयको नाम आएको छ,” उहाँले भन्नुभयो । सुशासनको कुरा गर्दा प्रधानमन्त्रीले कुरा ठीक हो भन्ने तर व्यवहारमा त्यसको विपरीत गर्ने गरेको महतले बताउनुभयो ।
“राजश्व दुरुपयोग गर्न दिनुहुँदैन भनेर लागेँ, आर्थिक सहायता जथाभावी बाँड्न हुँदैन भनेर मितव्ययिता अपनाएँ”, महतले भन्नुभयो, “यो गर्नु गलत हो, पाप हो ? मितव्ययी हुँदा उपलब्धि नहुने हो ?” विधि र प्रक्रियासँग नभएका प्रस्तावलाई आफूले रोकेको महतले स्पष्टीकरण दिँदैं भन्नुभयो, “साधन र स्रोतलाई जथाभावी खर्च गर्ने हो भने हामी अठ्यारोमा पर्ने निश्चित छ,”
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया सम्बन्धमा उत्पन्न विवादका सम्बन्धमा महतले स्पष्ट पार्दै महतले नयाँ स्टक एक्सचेञ्ज दिने÷नदिने विषय आफ्नो क्षेत्राधिकारभित्र नभएकोे बताउनुभयो । “प्रधानमन्त्रीले नै प्रक्रिया रोक्नुभएको हो । मन्त्रिपरिषदले गरेको निर्णय खोल्ने नखोल्ने निर्णय हुने मन्त्रिपरिषद्बाट,” महतले भन्नुभयो, “जहाँबाट रोकिएको त्यहीँबाट निर्णय हुने हो । हामीले खोल्न पनि भनेनौं । नखोल्न पनि भनेनौं ।”


चीनसँग ऋण र अनुदान लिन समेत महत सहयोगी नभएको आरोप लागेको थियो । सो सम्बन्धमा स्पष्ट पार्दै महतले प्रधानमन्त्री चीन भ्रमणमा जाँदा किन अनुदान नलिएको भनी प्रश्न गर्नुभयो । उहाँले आफु परराष्ट्रमन्त्री भएको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआईआर) मा नेपालले हस्ताक्षर गरेको भएपनि प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको बताउनुभयो ।
“हामीले भनेको यति मात्र हो कि ऋण लिँदा प्राथमिकताको क्षेत्र पहिचान गरौं । विश्व बैंक, एडीबीले एक प्रतिशतभन्दा सस्तो ब्याजमा ऋण दिन्छ,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन्छ, कम शर्त राखिएको सहुलियत पूर्ण ऋण वा अनुदान भयो भने मात्र स्वीकार गर्नुपर्छ भनेका हौं ।”
प्रचण्ड सरकारले हालसम्म गरेको उपलब्धि कांग्रेसकै कारण भएको महतको दाबी छ । प्रधानमन्त्री प्रचण्डले गत आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दा कांग्रेससहितको सरकारले नतिजा दिन नसकेपछि गठबन्धन छाडेको स्पष्टीकरण दिनुभएको थियो । महतले प्रधानमन्त्रीलाई भने, “मितव्ययी हुँदा, सुशासन सुनिश्चित गर्दा, दुरुपयोग नगर्दा उपलब्धि नहुने हो ? यो कुरामा सहमत हुन सकिन्न ।”

पूर्वअर्थमन्त्री महतले आगामी वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा ठूलो संख्यामा लगानीकर्ता आउने वातावरण आफूले बनाएको दाबी समेत गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन आफूले तयार पारेको मार्ग चित्रले मुलुकको अर्थतन्त्रलाई झनै गति दिने दावी समेत गर्नुभयो । उहाँल सो मार्ग चित्र वर्तमान सरकारले छोडे मुलुकको अर्थतन्त्र फेरि अफ्ठ्यारोमा पर्ने निश्चित रहेको जिकिर समेत गर्नुभयो ।
उहाँले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने र औषधिका लागि गाँजा खेती गर्ने कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक एवम् केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, विभागका सदस्य दिपकप्रसाद कुईकेल, नेपाल प्रेस यूनियनका अध्यक्ष शिव लम्साललगायत विभागका सदस्यहरुको उपस्थिती रहेको थियो ।