अन्तर नगर महिला कबड्डी प्रतियोगिता शुरु

भक्तपुर, फागुन २८
भक्तपुरमा आज (मंगलवार)देखी अन्तर नगर महिला कबड्डी प्रतियोगिता शुरु भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय शहिद स्मृति खेल मैदानमा कबड्डी प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले उद्घाटन गर्दै खेलकुद महिलाहरुलाई शारीरिक र मानसिक रुपले बलियो बनाउने सशक्त माध्यम भएको बताउनुभयो ।
खेलकुदमा सहभागी महिलाहरु अरुभन्दा तुलनात्मक रुपमा सभ्य, अनुशासित र निडर हुने विश्वास व्यक्त गर्दै उहाँले खेलकुद खेलाडीहरुबीच आपसी मित्रता कायम गर्ने अवसर पनि भएको बताउनुभयो ।


भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले खेलकुदको माध्यमबाट देशका विभिन्न नपासँग सुमधुर सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिँदैं खेलाडीहरुले प्रतिभा प्रदर्शन गर्ने अवसरको रुपमा प्रतियोगितालाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले अन्तर नगर खेलकुद प्रतियोगिता आयोजनाले देशका विभिन्न नगरपालिकाका खेलाडी र नगरबासीहरुबीच मैत्रीपूर्ण सम्बन्ध, आपसी सद्भाव विकास हुने बताउनुभयो ।
उहाँले देश हाँक्नेहरुसँग अनुशासन नहुँदा नेपाली जनताले अप्ठेरो अवस्था महसुस गरिरहेको बताउँदैं शासकहरुले खेलाडीहरुको देशप्रेम र अनुशासनबाट पनि केही पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।


नेपाल कबड्डी संघका अध्यक्ष तुलसा थापाले भक्तपुर नगरपालिकाले महिला कबड्डी आयोजना गरेर खेलाडीहरुलाई हौसला प्रदान गरेको बताउनुभयो । उहाँले गाउँगाउँमा खेल्ने कबड्डी खेल अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि तीव्र गतिले विकास हुँदै गएको बताउनुभयो । खेलकुद विकासमा तीनवटै तहका सरकारहरु समन्वय आवश्यक भएको बताउँदै उहाँले नेपालका खेलाडीहरुलाई विदेश पलायन हुनबाट रोक्न नेपालमै रोजगारीको सुनिश्चितता गर्नुपर्ने धारणा राख्नुभयो ।
वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर महिला कबड्डी प्रतियोगितामा १५ वटा नगरपालिका सहभागी रहेको बताउनुभयो । उहाँले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख, तेस्रो र चौथो हुनेलाई रु. ५०–५० हजार प्रति समूह नगद पुरस्कारको व्यवस्था गरेको जानकारी गराउनुभयो ।


कार्यक्रममा निर्णायकको तर्फबाट राष्ट्रिय निर्णायक दिलिपनारायण श्रेष्ठ र खेलाडीहरूको तर्फबाट भक्तपुर नगरपालिकाका राष्ट्रिय महिला कबड्डी खेलाडी पूजा दुवालले अन्तर नगर महिला कबड्डी प्रतियोगिता २०८० को खेल अखिल नेपाल कबड्डी संघको नियमअनुसार अनुशासित र मर्यादित ढंगले सम्पन्न गर्न शपथ लिनुभयो ।
प्रतियोगिताको उद्घाटनअघि भक्तपुरको दत्तात्रयबाट ¥यालीसहित नगरपरिक्रमा गरी शहिद स्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।