सूर्यविनायक नगरपालिकाका सर्वोत्कृष्ट करदाता सम्मानित

भक्तपुर, फागुन २७
सूर्यविनायक नगरपालिकाले दुई उत्कृष्ट करदातालाई आइतवार सम्मान गरेको छ । नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाले सबै भन्दा धेरै कर बुझाउने ग्रिन भिलेज हाउजिङ प्रा.लि.लाई सर्वोत्कृष्ट करदाता र निक भुजिक हाउजिङ प्रा. लि.लाई उत्कृष्ट करदाताको सम्मान गरेको हो ।
सो अवसरमा नगरप्रमुख बासुदेव थापाले पहिलो कार्यकालसहित ७ वर्षे कार्यकालमा गरेका कार्यहरुको विवरण प्रस्तुत गर्दै शुन्यमा रहेको नगरपालिकालाई व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गर्न करिव ७ दर्जन ऐन, नियम, कार्यविधि र निर्देशिका निर्माण गरी जारी गरेको बताउनुभयो ।


उहाँले सात वर्षे कार्यकालमा ‘विकासमा ऐक्यवद्धता र राजनीतिमा प्रतिष्पर्धा’ भन्ने मूल सिद्धान्त अनुरुप काम गरेको र त्यसैको परिणाम सातवर्षे कार्यकालमा भएका नगरसभा, कार्यपालिका बैठक सर्वसम्मत रुपमा सम्पन्न गर्न सफल भएको बताउनुभयो । उहाँले जनताका समस्यालाई आफुले आफ्नै समस्याको रुपमा लिएको जनाउँदैं जनतालाई सहज, सरल र पारदर्शीरुपमा सेवा प्रवाह नै मूख्य लक्ष्य रहेको बताउनुभयो ।
उपप्रमुख सरिता तिमल्सिना भट्टराईले नगरपालिकालाई सम्मुनत नगरपालिकाको रुपमा विकास गर्ने परिकल्पना लिएर अघि बढीको बताउनुभयो । कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष प्रदिप कार्की र वडा नं. ७ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता रविन्द्र सापकोटाले धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको सूर्यविनायक नगरपालिकालाई पर्यटनको केन्द्रको रुपमा विकास गर्ने योजना अनुरुप कार्य भइरहेको बताउनुभयो ।


स्थापना दिवसको अवसरमा नगरपालिका कार्यालयबाट शान्ति तथा समृद्धि पदयात्रा शुरु गरी सिर्जनानगर, सल्लाघारीचोकहुँदैं पुनः नगरपालिका कार्यालयमा समापन गरिएको थियो । कार्यक्रममा स्काउटको मार्चपास, अरनिको माविका विद्यार्थीहरुको कराँतेको कला कौशल प्रदर्शन, ज्योती माविका विद्यार्थीहरुको नृत्यलगायतको साँस्कृतिक प्रस्तुती प्रदर्शन गरिएको थियो ।