मतदाता नामावली अद्यावधिक शुरु, भक्तपुरमा थपिए २३१, हटे १३०९

भक्तपुर, फागुन २८
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले फागुन २८ गतेदेखी मतदाता नामावली अद्यावधिक गर्ने कार्य शुरु गरेको छ । इलाम २ को प्रतिनिधिसभा सदस्य र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि मिति घोषणा भएपछि निर्वाचन आयोगको कार्यतालिका अनुसार मतदाता नामावली अद्यावधिक गर्न लागिएको आइतवार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी नरेन्द प्रसाद न्यौपानेले बताउनुभएको हो ।
मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन, दोहोरो स्थानमा रहेको नामावली संशोधन गर्न र बसाई सराई गरी अन्यत्र गएका, मृत्यु भएका वा नागरिकता त्याग गरेकाहरुको नामावली हटाउन आयोगको निर्देशन अनुसार मतदाता नामावली अद्यावधिक गर्न लागिएको उहाँले बताउनुभयो ।
तालिका अनुसार फागुन २८ गते निर्वाचन आयोगले वेभसाईटमार्फत मतदाता नामावली प्रकाशन गरिनेछ । प्रकाशित नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सो को विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने र मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने मिति फागुन २९ गतेदेखी चैत्र ५ गतेसम्म तोकिएको छ ।
उजुरी परेका मतदातालाई प्रमाणसहित सफाईको मौका दिन चैत्र ६ गतेदेखी ८ गतेसम्म तोकिएको छ । निवेदन वा उजुरी सम्बन्धित वडा कार्यालय र अनलाइनमार्फत सिधै आयोगमा दिन सकिने व्यवस्था गरिएको न्यौपानले बताउनुभयो ।
आयोगले प्राप्त निवेदन र उजुरीमाथि आवश्यक छानविन गरी कानून बमोजिम निर्णय गर्न चैत्र ९ गतेदेखी १२ गतेसम्मको मिति तोकिएको छ । त्यस्तै नाम हटाएको सूचना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा प्रकाशन गर्ने र फरक फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको डाटासँगै आयोगमा पठाउने कार्य चैत्र १२ गतेदेखी १५ गतेसम्म हुने र अन्तिम मतदाता नामावली प्रकाशन चैत्र २२ गते गर्ने भएको छ ।
उपनिर्वाचनका लागि मिति घोषणा भएको र मतदाता नामावली अद्यावधिक शुरु भएकाले हाललाई नयाँ मतदाता नामवली दर्ता प्रक्रिया भने स्थगित गरिएको न्यौपानले बताउनुभयो ।
मतदाता नामावली अद्यावधिक गर्न जिल्लाका चार वटै पालिका र जिल्ला प्रशासन कार्यालयमा बसाई सराई गरेर गएका, मृत्यु भएका, नागरिकता त्याग गरेकाको विवरण माग गरिसकेको उहाँले जानकारी दिनुभयो ।


भक्तपुरमा थपिए २३१, हटे १३०९
यसैबीच भक्तपुरमा गत वर्षको आमनिर्वाचनपछि अत्यन्त न्यून संख्यामा नयाँ मतदाता थपिएका छन । भक्तपुरमा गत साउन १ गतेदेखी फागुन १३ गतेसम्म जम्मा २३१ जना मतदाता थपिएका छन । ती मध्ये भक्तपुरमा दर्ता भएका ६७ महिलासहित जम्मा १६२ जना छन भने बाह्य जिल्लामा नाम दर्ता गरी भक्तपुरमा कायम भएका २६ महिलासहित ६९ जना छन । यो अवधीमा ७ जनाले नामावलीमा भएको त्रुटि सच्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी गत मंसिरमा सम्पन्न आमनिर्वाचनको तुलनामा भक्तपुरमा अहिले मतदाताको संख्या घटेको छ । गत आमनिर्वाचनमा भक्तपुरमा १ लाख ९४ हजार ४३९ जना मतदाता रहेकोमा हाल १ लाख ९३ हजार १३० कायम रहेको निर्वाचन अधिकारी नरेन्द्र प्रसाद न्यौपानले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरमा १ हजार ३०९ मतदाता घटेका छन ।
स्थानीय तहबाट मृत्यु भएका र बसाई सराईको तथ्यांक संकलन गरी अद्यावधिक गर्दा १ हजार भन्दा बढीको संख्यामा नाम कटौती भएको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाका चार वटा पालिका मध्ये भक्तपुर नगरपालिकामा सबै भन्दा धेरै मतदाता घटेका छन ।
मतदाता नामावली अद्यावधिक गर्न जिल्लाका चार वटै पालिका र जिल्ला प्रशासन कार्यालयमा बसाई सराई गरेर गएका, मृत्यु भएका, नागरिकता त्याग गरेकाको विवरण माग गरिसकेको र सो विवरण आएपछि अझै मतदाता संख्या घट्न सक्ने आंकलन गरिएको छ ।
भक्तपुरमा मतदाता नामावलीमा नाम दर्ताको लागि औसत दैनिक दुई जना आउने गरेको न्यौपानले बताउनुभयो । विगतमा जिल्ला प्रशासन कार्यालयमा फोटोसहितको मतदाता नामावली संकलन टोली रहने र नागरिकता लिन आएका नागरिकलाई अनिर्वाय रुपमा फाटोसहितको नाम दर्ता गराउनु पर्ने प्रावधान रहँदा प्रभावकारी बनेको मतदाता नामावली संकलन हलिे सो व्यवस्था हटेपछि सुस्ताएको हो ।
प्रजिअले मागे दलहरुको सहयोग
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले निर्वाचनलाई स्वच्छ, निष्पक्षरुपमा सम्पन्न गर्न मतदाता नामावलीपनि सही हुनुपर्ने भएकाले नामावली अद्यावधिकमा दलहरुले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा मतदानको प्रतिशत कम हुनुमा नामावलीमा त्रुटि हुनु पनी एक भएकाले यसमा भएका त्रुटि सच्याउन दलहरु क्रियाशिल हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
दलहरुको प्रतिवद्धता र माग
मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा भक्तपुरका राजनैतिक दलहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । उनीहरुले आफ्ना तल्लो तहका इकाइसम्म परिपत्र गरेर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।
यसैगरी भक्तपुरका प्रमुख राजनीतिक दलहरुले जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन गर्ने टोली राख्न माग समेत गरेका छन । विगतमा जिल्ला प्रशासन कार्यालयमा टोली रहँदा नागरिकता लिएका सबैले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था रहेको र त्यसले मतदाता नामावली संकलन प्रभावकारी बनेको निष्कर्षसहित सो व्यवस्था पुनः लागु गर्न माग गरेका हुन ।
जिल्ला निर्वाचन कार्यालयले आइतवार जिल्ला प्रशासन कार्यालयमा आयोजित मतदाता नामावली अद्यावधिक सम्बन्धी कार्यक्रममा सहभागी दलहरुले सो माग गरेपछि छलफलमा निर्वाचन आयोगमा सो व्यवस्थाका लागि माग गरी पठाउने निर्णय समेत भएको निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताउनुभयो ।