मध्यपुर थिमिमा सामूदायिक विद्यालयको दिवा खाजाका लागि त्रिपक्षीय सम्झौता

भक्तपुर, फागुन २७
मध्यपुर थिमि नगरपालिकाले एकिकृत भान्साघर सञ्चालन गरी सामूदायिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा उपलब्ध गराउने भएको छ । यसका नगरपालिकाको सभाहलमा मध्यपुर थिमि नगरपालिका, विश्व खाद्य कार्यक्रम र फुड फर लाईफ (जीवनका लागि खाना)बीच त्रिपक्षीय समझौता भएको छ ।
सम्झौता पत्रमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, विश्व खाद्य कार्यक्रममा कन्ट्री डाइरेक्टर रोवर्ट कास्टा र फुड फर लाईफका अध्यक्ष वृजेश लाकौलले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतामा केन्द्रीकृत भान्छाघर निर्माण गरी मध्यपुर थिमि नगरभित्रका सामूदायिक विद्यालयमा अध्ययनरत कक्षा ईसिडीदेखी ५ सम्मका विद्यार्थीहरुलाई पोषणयुक्त पौष्टिक दिवा खाजा उपलब्ध गराउने उद्देश्य रहेको छ ।
सम्झौता अनुसार नगरपालिका र विश्व खाद्य कार्यक्रमले केन्द्रीकृत भान्साघर निर्माण गर्नेछ र फुड फर लाईफले खाजा व्यवस्थापन र वितरण गर्नेछ ।
दिवा खाजाका लागि संघीय सरकारले प्रति विद्यार्थी १५ रुपैंया प्रदान गर्दै आइरहेको छ । सोही रकममा नगरपालिकाले थप ५ र फुड फर लाईफले १० रुपैंया थप गरी दैनिक ३० रुपैंयाको खाजा विद्यार्थीहरुलाई उपलब्ध गराउने उद्देश्यले सो सम्झौता गरिएको मध्यपुर थिमि नगरपालिका सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिनुभयो ।
सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सम्झौतालाई यथाशिघ्र कार्यान्वयन लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले सम्झौताका तीन वटै निकायले समयमा काम सम्पन्न गरी विद्यार्थीहरुलाई पौष्टिक र पोषणयुक्त खाजा उपलब्ध गराउन अग्रसर हुनुपर्ने बताउनुभयो ।
उहाँले दिवा खाजा कार्यक्रमले सामूदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नुका साथै बालबालिकाहरुमा हुने कुपोषणको समस्या हल भई स्वस्थ नागरिक उत्पादनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।