भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने

भक्तपुर, फागुन २७
भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा यही फागुन २९ गतेदेखी शहिद स्मृति खेल मैदानमा सो प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा आयोजकसहित देशभरका १७ वटा नगरपालिकाको सहभागिता रहने भक्तपुर नगरपालिकाले आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिए । प्रतियोगितामा विजयी टोलीले नगद १ लाख ५० हजार, दोस्रोलाई १ लाख, तेस्रो र चौथोलाई ५०÷५० हजार रुपैंया नगद पुरस्कारको व्यवस्था गरेको छ भने सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था आयोजकले गर्नेछ ।
प्रतियोगितामा सहभागी टोलीले बढीमा दुई जना राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गरिसकेका राष्ट्रिय खेलाडी सहभागी गराउन सकिने आयोजकले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनको लागि ३५ लाख रुपैंया लाग्ने अनुमान गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले नगरवासीलाई स्वस्थ राख्न नगरपालिकाले हरेकलाई शारीरिक व्यायाममा अभ्यस्त गराउन नगरका विभिन्न स्थानमा व्यायामशाला निर्माण गरेको बताए ।
उनले निर्वाचनमा जनता समक्ष गरेको प्रतिवद्धता अनुसार हरेक वर्ष एउटा खेलको अन्तर नगर प्रतियोगिता गर्ने नीति अनुसार यसवर्ष महिला कबड्डी प्रतियोगिता आयोजना गरेको बताए ।
भक्तपुर नगरपालिकाले यसअघि २०७४ को स्थानीय निर्वाचनपछि पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल र गत वर्ष खो खो खेलको प्रतियोगिता सञ्चालन गरेको थियो ।
चैत्र ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि नगर प्रमुख प्रजापतिको संयोजकत्वमा १५१ सदस्यीय मूल समिति र विभिन्न ११ वटा उपसमितिहरु गठन गरिएको छ । प्रतियोगितालाई अखिल नेपाल कबड्डी संघले मान्यता प्रदान गरेको छ ।
प्रतियोगितामा महाकाली नगरपालिका दार्चुला, मेलौली नगरपालिका बैतडी, भिमदत्त नगरपालिका कञ्चनपुर, बुटवल उपमहानगरपालिका बुटवल, कलैया उपमहानगरपालिका बारा, सिद्धिचरण नगरपालिका ओखलढुंगा, विराटनगर महानगरपालिका मोरङ र काठमाण्डौं महानगरपालिका काठमाण्डौंको सहभागिता रहने भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए ।
यसैगरी गोदावरी नगरपालिका ललितपुर, किर्तिपुर नगरपालिका काठमाण्डौं, मध्यपुर थिमि नगरपालिका भक्तपुर, पनौती नगरपालिका काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका काभ्रेपलाञ्चोक, सोलुखुम्बु नगरपालिका सोलुखुम्बु, ललितपुर महानगरपालिका ललितपुर र आयोजक भक्तपुर नगरपालिकाको सहभागिता रहेको छ ।
प्रतियोगिता उद्घाटन अघि वडा नं. ९ दत्तात्रय प्राङ्गणबाट ¥याली शुरु गरी नगरका तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी शहिद स्मृति खेलमैदानमा पुगी समापन हुने कार्यक्रम रहेको खत्रीले बताए ।