भाजु पुखु र जलेश्वर मन्दिर १ करोड ८७ लाखमा पुनर्निर्माण सम्पन्न

भक्तपुर, फागुन २५
भक्तपुरको दुधपाटीस्थित ऐतिहासिक भाजु पुखु र पुखुको बीच भागमा रहेको जलेश्वर महादेव मन्दिर शुक्रवार उद्घाटन गरिएको छ । भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको उक्त पुखु र मन्दिर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गर्नुभएको हो ।
वि. सं. २०५८ सालको शिवरात्रीमा पुनर्निर्माण शुरु भएको भाजु पुखु र जलेश्वर मन्दिरको लामो अध्ययन अनुसन्धानपछि मौलिक स्वरुपमा हालै पुनर्निर्माण सम्पन्न भएको थियो । पुनर्निर्माणका लागि लागत इष्टमेट २ करोड ५१ लाख ७९ हजार ९९० रुपैंया रहेकोमा १ करोड ८७ लाख ३५ हजार ६३४ रुपैयाँमा सम्पन्न भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।


पुखु र मन्दिर पुनर्निर्माणका लागि नगरपालिकाले ईतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय भाजु पुखु अध्ययन कार्यदल गठन गरेको थियो भने पुनर्निर्माणका लागि ६ वटा उपभोक्ता समितिहरु बनेका थिए ।
पुखु र मन्दिरको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले भाजु पुखु मानव सभ्यताको एक महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो । उहाँले लोपोन्मुख अवस्थामा रहेका राष्ट्रिय धरोहरहरुलाई पुर्नजीवन दिने काममा पुरातत्व विभाग, प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालहरु अग्रसर हुनुपर्ने बताउँदै भक्तपुरको इतिहास, कला संस्कृति नयाँ पुस्तालाई पाठ्यक्रममार्फत अध्ययन गर्ने वातावरण सिर्जना गरी नयाँ पुस्तालाई सम्पदाहरुको ईतिहास थाहा दिलाउनुपर्ने बताउनुभयो । साथै सांस्कृतिक स्तर वृद्धि गर्न स्थानीय जनताको एकता आवश्यक भएको स्पष्ट पार्दै हातमा हात मिलाए जुनसुकै काम पनि सजिलै सम्पन्न गर्न सकिनेमा जोड दिनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अन्य सम्पदा निर्माणमा जस्तै भाजु पुखु पुनर्निर्माणको क्रममा पुरातत्वविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको सल्लाह र सुझावअनुसार कार्य अगाडि बढाएको बताउनुभयो ।
उहाँले भाजु पुखुको मौलिकतामा आँच पुग्ने कुरामा भक्तपुर नपाले अत्यन्त सचेतनापूर्वक काम गरेको बताउँदै पोखरीमा जनताको अपनत्व कायम होस् भन्ने उद्देश्यले अन्य सम्पदाहरूमा जस्तै स्थानीय जनताबाट गठित उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले लोप हुनै लागेको भाजु पुखुलाई सुन्दर र मनमोहक अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने वडाबासी, कालिगढ, जनप्रतिनिधि, पुरातत्व विभाग, प्राविधिक सम्पूर्णमा उच्च सम्मान व्यक्त गर्नुभयो ।


प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले ऐतिहासिक सम्पदाले भरिएको जीवन्त संग्रहालय भक्तपुरमा सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्धनमा सबैको साथ रहेको बताउनुभयो । उहाँले यस पोखरीलाई पर्यटकीय दृष्टिले ध्यान दिनुपर्ने बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले ५० भन्दा बढी पोखरी रहेको भक्तपुरमा ३४ वटा सञ्चालनमै रहेको र प्रत्येक सम्पदा मानव विकाससँगै जोडिने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई संरक्षणका सिप र प्रविधि हस्तान्तरण गरे भोलिका पुस्ताले दुःख नपाउने बताउनुभयो । पुरातात्विक सम्पदाहरुले भरिएको जीवन्त संग्रहालयको परिचित भक्तपुरलाई ८०० वर्ष पुरानो पोखरी पुनःनिर्माणबाट अझ गौरव गर्ने अवसर मिलेको उहाँले बताउनुभयो ।
ईतिहास्विद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले भाजु पुखुको ऐतिहासिक पक्षमाथि उजागर गर्दै अन्वेषण र उत्खनन्कै सिलसिलामा भाजु पुखुको मध्यभागमा पश्चिमाभिमुख जलेश्वर मन्दिर रहेको थाहा हुन आएको बताउनुभयो । जलेश्वर मन्दिर जीर्णोद्धारको अभावमा भत्किएर दम्फोमा परिणत भएको बताउँदै भाजु पुखुको पुनर्निर्माणसँगै पोखरीको इतिहास पनि जीवित भएको छ भन्नुभयो ।


कार्यक्रममा पूर्व न्यायाधीश गौरीबहादुर कार्की, दरबार हेरचाह तथा स्मारक संरक्षण अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी, नगर उपप्रमुख रजनी जोशी, भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक कविता लुइँटेल, वडा नं. १ का वडाअध्यक्ष श्यामकृष्ण खत्री, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वाले मौलिकता र सम्पदा संरक्षित सहरको रुपमा देश–विदेशमा परिचित भक्तपुरको सांस्कृतिक, सम्पदा संरक्षण अभियान र भाजु पुखुको पुनर्निर्माण कार्य भक्तपुरको लागि कोसेढुंगा सावित भएको उल्लेख गर्नुभयो ।
सो अवसरमा ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भाजु पुखु पुनर्निर्माणमा अहोरात्र खटिएका महिला श्रमिकहरुलाई सम्मान गरिएको थियो । साथै भाजु पुखु पुनर्निर्माणका लागि गठन भएका उपभोक्ता समितिका अध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ‘भाजु पुखु र जलेश्वर मन्दिर पुनर्निर्माण’ पुस्तक विमोचन गर्नुभएको थियो । उद्घाटन अगाडि विभिन्न बाजागाजा सहित नासमनाबाट ¥याली आयोजना गरिएको थियो ।