तेह्रथुमका ढकालको हत्या आरोपमा भक्तपुरका सुवाल पक्राउ

भक्तपुर, फागुन २०
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा गत फागुन १० गते मृत भेटिएका तेह्रथुमको छथर गाउँपालिका–२ का गोपाल ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
फागुन ९ गते राती करिव ८ बजे खाने तेल किन्न भनी पसल गएका ढकाल भोलीपल्ट स्थानीय रोशन बस्नेतको कच्ची ईट्टा, माटोले बनेको दुई तल्ले गोठको भुँई तल्लामा रक्ताम्मे अवस्थामा मृत फेला परेको थियो । शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंज, काठमाण्डौंबाट तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीसमेतको संलग्नतामा अनुसन्धान कार्य अगाडि बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा ढकालको हत्या भएको निष्कर्षमा पुगेका प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरेको हो । हत्याको घटनापछि फरार रहेका सुवाललाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बाट शनिबार पक्राउ गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले बताउनुभयो ।
रेग्मीका अनुसार ढकाल हराएको राती ढकालकी श्रीमती रेनुलाई टेलिफोनमा श्रीमान चाहिए २ लाख रुपैयाँ लिएर सूर्यविनायकको जंगलमा आउनू भनी ढकालै मोवाइलबाट फोन आएको थियो । त्यसलगत्तै ढकालको फोन अफ भएको थियो ।
प्रहरीले ढकाल र सुवालबीच आपसी झगडापछि ढकालको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ । सुवालले इँटा, ढुंगाले हानेर हत्या गरेको प्रहरीको भनाइ छ । उनीहरुबीच २÷३ दिनअघि खाजाघरमा भेट भई चिनजान भएको थियो । चिनजान भएपछि सुवालले ढकाललाई आफु बस्ने घरमा लिएर गएका थिए । त्यसै क्रममा झगडा भई हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
सुवाललाई थप कारवाहीको लागि प्रहरी वृत्त जगातीमा बुझाएको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुवाललाई प्रहरी वृत्त जगातीमा बुझाएको र अब अदालतबाट म्याद थप गरी थप कारवाही अगाडि बढाईने जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो ।
प्रहरीले अनुसन्धानकै क्रममा अन्य दुई जनालाई पनि पक्राउ गरिएको थियो । पक्राउ परेका दुई मध्ये एक जनालाई पुनःस्थापना केन्द्र पठाएको र एक जनालाई भने प्रहरी वृत्त जगातीमा राखी अनुसन्धान भइरहेको जानकारी दिँदैं डिएसपी पाठकले ती दुई जनाको ढकालको हत्या घटनामा संलग्नता पुष्टि हुने प्रमाण नभेटिएको बताउनुभयो ।