सिटीईभिटीका उपाध्यक्षमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

भक्तपुर, फागुन २०
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीईभिटी)केन्द्रिय कार्यालय सानो थिमिका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई अभद्र व्यवहार गर्नुका साथै कालो मोसो दल्ने प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा अछामको कमलबजार नगरपालिका–६ घर भई काठमाण्डौं कलंकी बस्ने ३० वर्षिय डि बि भन्ने डम्बर बहादुर शाही र दार्चुलाको मार्मा गाँउपालिका–२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने ३० वर्षिय नवराज भट्ट छन ।
अखिल क्रान्तिकारी (वैद्य समूह) बताउने उनीहरुले गत फागुन ६ गते भेटघाट गर्ने बहानामा अधिकारीको कार्यकक्षमा पसेर अभद्र व्यवहार गर्नुका साथै कालोमोसो दल्ने प्रयास गरेको प्रहरीले बताएको छ ।
उनीहरुलाई आइतवार बिहान गठ्ठाघरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिनुभयो ।