विज्ञान प्रदर्शनीमा जनप्रेमी वल्र्ड प्रथम

भक्तपुर, फागुन १९
शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले सानो थिमिस्थित आदर्श माध्यामिक विद्यालयमा शुक्रवार आयोजित जिल्ला व्यापी माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा मध्यपुर थिमि–२, कौशलटारस्थित जनप्रेमी वल्र्ड स्कुल प्रथम भएको छ ।
प्रदर्शनीमा देवी मा.वि. दोस्रो र ख्वप मा. वि. तेस्रो भएको छि भने आदर्श मावि लाय्कू थिमिले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रदर्शनीको मूल्याङ्कन समूहमा युवराज अधिकारी (पाठ्यक्रम अधिकृत ), अरुण चौधरी र हेमन्त ढुङ्गाना रहनु भएको थियो । प्रदर्शनीमा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार, तेस्रो हुनेले २ हजार र सान्त्वना पुरस्कार पाउनेले एक हजार नगद पुरस्कार प्राप्त गरे ।
विद्यार्थीको कक्षागत पाठ्यक्रम अनुसार विज्ञान विषयमा खोज तथा अनुसन्धानका पाठहरूमा भनिएजस्तै ती बस्तुहरूको अनुसन्धान एवं प्रयोगबाट कसरी मानव जीवनलाई सहज तुल्याउन सकिँदो रहेछ भनेर शिक्षण सिकाईका लागि विज्ञान प्रदर्शनी गरिएको हो ।
विद्यार्थीले विज्ञान, प्रविधि, कला, संस्कार, संस्कृतिलगायतका विषयमा पाठ्यपुस्तकमा अध्ययन गरिएका विषयलाई विभिन्न सामग्री प्रयोग गरी विभिन्न प्रतिभा प्रदर्शनी गरेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कमला ज्ञवालीले युवापुस्ताहरूको सोचलाई उद्यममा परिवर्तन गर्न यस किसिमको प्रदर्शनी राखिएको बताउनुभयो । पढाइमा सीप जोड्नु पर्ने भएकोले यस किसिमको प्रदर्शनीलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
शिक्षा तथा मानव श्रोत विकास इकाईका सह सचिव जयराम अधिकारीले विज्ञानले मानिसलाई वैज्ञानिक चिन्तन दिने र प्रयोगमा ल्याउने, चिन्तन गर्ने, तथ्य तथ्याङ्क तार्किक निकाल्न मद्दत गर्ने बताउनुभयो ।
विज्ञान प्रदर्शनीमा छनोट हुन भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञानसँग अन्तरसम्बन्ध हुनुका साथै वातावरण मैत्री अविस्कार गरेको हुनुपर्ने प्रावधान राखिएको थियो । जिल्लामा प्रथम हुनेले हेटौडामा आयोजना हुने प्रदेश स्तरीय विज्ञान प्रदर्शनीमा भाग लिनेछन् ।