फ्रान्सको शिर्ष डिभिजनमा साम्बाको गोल, ग्वेंगाम्प २–० ले विजयी

भक्तपुर, फागुन १९
फ्रान्सको शिर्ष डिभिजनको महिला लिग फुटबलमा एन अभान्ट ग्वेंगाम्पको जितमा नेपाली राष्ट्रिय महिला टोलीका फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले शनिवार गोल गरेको छ । साम्बाले लिलविरुद्ध महत्वपूर्ण गोल गरेकी हुन । खेलमा ग्वेंगाम्पले साम्बाको गोल मद्दतले २–० गोलको जित निकाल्न सफल भएको हो ।
साम्बा खेलको ८५ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । मैदान प्रवेश गरेको दोस्रो मिनेटमा उनले निकालेको सुन्दर क्रसमा ग्वेंगाम्पका खेलाडीको हेड गोलपोष्टको बारमा लागेर फर्किएको थियो ।
इन्ज्युरी समयको पहिलो मिनेटमा विपक्षीबाट सहकर्मीले खोसेको बललाई अघि बढाउँदै साम्बाले वन भर्सेस वनमा सुन्दर गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाइन । खेलको अन्तिम मिनेटमा पनि साम्बाले गोल गर्ने अवसर पाएका थिए तर उनले नियन्त्रण गर्न सकेन । यसअघि खेलको ५६ औं मिनेटमा एन्टोइन स्टारोभाले पेनाल्टीमा गोल गर्दै ग्वेंगाम्पलाई अग्रता दिलाएकी थिइन् ।
साम्बा वाफ च्याम्पियनसिपको फाइनल गुमाएर फ्रान्सको शिर्ष डिभिजनको लिग खेल्न पुगेकी थिइन । यस जितले ग्वेंगाम्प अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । १६ खेलमा टोलीको १५ अंक पुगेको छ । रेलिगेसन क्षेत्रबाट अब क्लब ७ अंकले माथि छ ।