प्रथम भक्तपुर जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रश्ना र गणेशमान प्रथम

भक्तपुर, फागुन १९
प्रथम भक्तपुर जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रश्ना किवानायो र गणेशमान दुवाल प्रथम भएका छन । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न दुई दिने प्रतियोगितामा प्रश्ना महिलातर्फ र गणेशमान पुरुषतर्फ प्रथम भएका हुन ।
प्रतियोगितामा यशस्वी शर्मा र श्रीषा दुवाल महिलातर्फ क्रमशः द्धितिय र तृतिय भए भने पुरुषतर्फ निकेन कुसाथा द्धितिय र गणेश अवाल तृतिय भए । प्रतियोगितामा प्रथम हुनेले नगद ७ हजार, द्धितियले ५ हजार र तृतियले ३ हजार पुरस्कार प्राप्त गरे ।


प्रतियोगिताका विजयी खेलाडीहरुलाई जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापा, राष्ट्रिय खाद्य बैंकका प्रवन्ध निर्देशक रामशरण देउजा, सहायता फाउण्डेसनका अध्यक्ष राजु ढुंगेल, सूर्यविनायक नगर बुद्धिचाल संघका अध्यक्ष गोकुल केसीलगायतले पुरस्कृत गरेका थिए ।
सो अवसरमा जिसस प्रमुख थापाले बुद्धिचाल खेल शारीरिक बलले भन्दा पनि बुद्धि र विवेकले खेल्ने भएकाले जो सुकैले खेल्न सकिने खेल भएको बताए । उनले बुद्धिचालले दिमाग तन्दुरुष्ट राख्न मद्दत गर्ने र यसले बुद्धिको वृत्ति विकासमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गरे ।


प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले खेल क्षेत्रलाई शिक्षासँग जोडेर लैजान सके खेलाडीहरुले उच्च शिक्षा हासिल गर्न सहज पुग्ने बताए । उनले खेलले अपनत्व र देशप्रेमको भाव जगाउने र सबैलाई एकताको सुत्रमा बाँध्न सहयोग पु¥याउने गरेको उदाहरण प्रस्तुत गरे ।
राष्ट्रिय खाद्य बैंकका प्रवन्ध निर्देशक रामशरण देउजाले पछिल्ला केही समय यता भक्तपुरमा खेल गतिविधि बृद्धि भएको भन्दै खेलकुद समितिको प्रशंसा गरे ।


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले पदमा नहुँदा पनि खेल क्षेत्रको विकास र खेलाडीहरुको समस्या समाधानमा सधैं तत्पर भएर लागिरहने प्रतिवद्धता जनाए ।
प्रतियोगितामा ५ महिलासहित ५१ जनाको सहभागिता रहेको थियो । सो अवसरमा जिल्ला खेलकुद विकास समिति भक्तपुरले खेल क्षेत्रमा गरेको सहयोगको योगदानको कदर गर्दै प्याव्सन भक्तपुरलाई सम्मान समेत गरेको थियो ।