भक्तपुर दरवारस्क्वायरमा तीन पुस्ताका तस्विर प्रदर्शन

भक्तपुर, फागुन १८
भक्तपुर दरवारस्क्वायरमा शुक्रवारदेखी दुई दिने ‘ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी’ शुरु भएको छ । भक्तपुर पर्यटन विकास समितिको आयोजनामा शुरु भएको फाटो प्रदर्शनीमा ८० वर्ष अघिको भक्तपुरको तस्विर प्रदर्शन गरिएको छ ।
प्रदर्शनीमा भक्तपुरका पुस्तैनी फोटोग्राफर बनेपाली परिवारका तीन पुस्ताका तस्विर राखिएको छ । प्रदर्शनीमा भक्तपुरका पहिलो पुस्ताका फोटोग्राफर स्वर्गीय बद्रीप्रसाद बनेपाली, उनका छोरा केदार बनेपाली र नाती नातीनी किशन बनेपाली र सुनी बनेपालीको तस्विर राखिएको छ ।


प्रदर्शनीमा बनेपालीको तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा सँगसँगै सर्वसाधारणको जीवनशैली, रीतिरिवाज, जात्रापर्व र धर्म–संस्कृति झल्कने स्व. बनेपालीले करिब ८० वर्ष अगाडि खिचेका फोटोसँगै उनका छोरा केदारले ५०, नातिनी सुनीले ३० र नाति किशनले २० वर्षअघि खिचेका फोटोहरु राखिएका छन् ।


प्रदर्शनीमा स्व. बद्रीप्रसाद, उनका छोरा केदार र नातिनी सुनीले फरक फरक समयमा एउटै कोणबाट खिचेको भक्तपुरका सम्पदाहरुको फोटो समेत रहेका छन् । जसले भक्तपुरका सम्पदाहरुको फेरिएको स्वरुप तथा जीर्णोद्धार र पुनर्निर्माणको चरणबारे स्पष्ट जानकारी दिने फोटोग्राफर केदार बनेपालीले बताउनुभयो ।


उहाँका अनुसार स्व.बद्रीप्रसादले १९८६ सालपछि खिचेका फोटोहरु प्रदर्शनमा रहेका छन् । जसमा राजा महेन्द्र भक्तपुरको तलेजु भ्रमणमा आएको, भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी नेपाल भ्रमणका क्रममा भक्तपुर दरबार क्षेत्र पुगेको फोटोसमेत समावेश छ ।
फोटोग्राफर सुनी बनेपालीले प्रदर्शनीमा राखिएका सम्पदाका फोटोहरुमध्ये अहिले केही अस्तित्वमै नभएकाले उक्त फोटोको सहयोगले ती सम्पदा मौलिक स्वरुपमै पुनर्निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


आयोजक भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दीपेशराज शर्माले भक्तपुरको सम्पदाको स्वरुप, स्थानीयको जीवनशैलीमा आएको चरणबद्ध परिवर्तन झल्काउन फोटो प्रदर्शनी गरिएको बताउनुभयो ।
सो फोटो प्रदर्शनी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गर्नुभएको थियो ।