लैङ्गिक हिँसाविरुद्ध सचेतना अभिबृद्धि गर्न नेपाल प्रहरी श्रीमती संघको विविध कार्यक्रम

भक्तपुर, फागुन १८
लैङ्गिक हिँसा तथा घरेलु हिँसाविरुद्ध सचेतना अभिबृद्धि गर्ने उद्देश्यले शुक्रवार भक्तपुरको टौमढीमा नेपाल प्रहरी श्रीमती संघले विविध सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । संघले जिल्ला प्रहरी परिसर भक्तपुरको सहकार्य र साझेदारीमा नाटक, गीति नाटक र नृत्यमार्फत सन्देश प्रदान गरेको थियो ।
कार्यक्रममा नेपाल प्रहरीको कलाकार टोलीले जीवन्त अभिनयका साथ लैङ्गिक हिँसा तथा घरेलु हिँसाका कारण कसरी घरपरिवार अशान्ति हुनुका साथै परिवारका सदस्य गलत र कुलतमा फस्छ भन्ने सन्देश सहितको ‘समान युग’ नाटक मञ्चन गरिएको थियो ।


यसैगरी प्रहरी कर्मचारीका परिवारले कसरी दुःख वेदनाकाबीच पनि एकअर्काको सहयात्री बन्छ भन्ने सन्देश सहितको ‘हामी तिम्रै सहचारी’ बोलको गितमा नृत्य, समाजका लागु औषध दुव्र्यसनीहरुलाई प्रहरीको मायालु व्यवहारले कुलत छोड्न अभिप्रेरित गरेको र ती युवाहरु कुलत त्यागी देश विकासमा समाहित भएको सन्देशसहितको गिती नाटक ‘एडिकको जिन्दगी’ पनि मञ्चन गरिएको थियो ।

साथै समूदायमा अपराध नियन्त्रणका समूदाय प्रहरी साझेदारीको महत्व झल्कने समूदाय प्रहरी साझेदारी सम्बन्धी गीतमा नृत्य समेत प्रस्तुत गरिएको थियो भने स्थानीय नास हइमा बाजा खलःका सदस्यहरुले धिमे बाजाको प्रस्तुतीमार्फत मनोरञ्जन प्रदान गरेको थियो ।


सोही अवसरमा जिल्लाव्यापी विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा विजयी छात्रछात्रालाई पुरस्कृत पनि गरिएको थियो । प्रतियोगितामा श्री महेन्द्र माध्यामिक विद्यालय बालकोटमा कक्षा ९ मा अध्ययनरत छात्रा समता सापकोटा प्रथम हुनुभएको थियो । प्रतियोगितामा सहभागी ३१ छात्रछात्रा मध्ये सापकोटा प्रथम हुनुभएको हो ।
‘अपराध न्यूनिकरणमा प्रहरीको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा श्री पद्य माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र कस्तुप थापा द्धितिय र बासु माध्यामिक विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्र सुप्रिम सुलु तृतिय हुन सफल हुनुभएको हो ।


प्रतियोगिताका विजयी छात्रछात्रालाई आयोजक संघकी अध्यक्ष लक्ष्मी कुँवर, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले नगदसहित पुरस्कृत गर्नुभयो । निबन्ध प्रतियोगिताको निर्णायक मण्डलमा हरिहर तिमल्सिना, निर्मला जोशी र रुपकेशरी उलक रहनुभएको थियो ।


सो अवसरमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सभ्य र सम्मुनत समाज निर्माणका लागि नगरपालिकाले शिक्षामा जोड दिएको बताउनुभयो । उहाँले समाजलाई शिक्षित बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न ८ वटा शैक्षिक संस्था सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय ईन्टरनेटको माध्यमबाट पनि हिँसाको शिकार भएका घटना बृद्धि भइरहेकोले त्यसतर्फ सचेत भई प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले पिडितलाई मानसिक रुपमा प्रतिकार गर्न सक्षम बनाउन सकेमात्र समाजमा लैङ्गिक हिँसा अन्त्य गर्न सकिने धारणा राख्नुभयो । उहाँले समाजमा लैङ्गिक र घरेलु हिँसाका अधिकांश घटनामा महिला पिडित हुने गरेको उल्लेख गर्दै महिला आत्मनिर्भर नहुनु यसको मूल कारण भएकाले महिलालाई आर्थिकरुपमा सक्षम र सवल बनाउनुपर्नेमा जोड दिनुभयो ।
महिला हिँसा अन्त्यका लागि पुरुषको साथ, सहयोग र सहकार्य आवश्यक भएको चर्चा गर्दै उहाँले हिँसा रहित समाज र राष्ट्र निर्माणमा हरेक तवरले प्रशासन सहकार्य गर्न तयार रहेको बताउनुभयो ।


संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघले प्रहरी परिवारलाई शिक्षाका साथै विभिन्न सिपमूलक तालिम प्रदान गर्नुका साथै सचेतनामूलक कार्यक्रममार्फत समाजलाई पनि सभ्य र सम्मुनत बनाउन पहल गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी दिप्ती कार्की, प्रहरी परिसर भक्तपुरका प्रनि सानु श्रेष्ठ, निबन्ध प्रतियोगिताको निर्णायक मण्डलका सदस्य हरिहर तिमल्सिनाले लैङ्गिक हिँसा सभ्य समाजको बाधक रहेको चर्चा गर्नुभएको थियो ।