दुधको भुक्तानी माग्दै कृषक सडकमा

भक्तपुर, फागुन १८
दुधको बाँकी बक्यौता भुक्तानी माग गर्दै बिहिवार भक्तपुरका किसानहरुले सडकमा प्रदर्शन गरेका छन । नेपाल दुग्ध विकास संस्थान (डिडिसी)बाट दुधको भूक्तानी नपाएका कृषकहरुले भक्तपुरको जगाती चोकमा भैंसीसहित विरोध प्रदर्शन गरेका हुन ।
प्रदर्शनका क्रममा कृषकहरुले दुधको छिटो भुक्तानी माग गर्नुका साथै सरकार विरोधी नारा लगाएका थिए । किसानलाई सत्तामा पुग्नु छैन्, दुधको भुक्तानी चाहिएको छ भन्दै आन्दोलनमा आएका कृषकहरुले ‘सिंहदरवार खाली गर, भैँसी पाल्न आउँदै छौं’ नारा लगाउनुका साथै विदेशबाट दुधजन्य पदार्थ खरिद नगर्न चेतावनी पनि दिएका थिए ।
संस्थानले छिटो भन्दा छिटो दुधको भुक्तानी नदिए सरकार विरुद्ध निर्णायक आन्दोलन गर्नुपर्ने बाध्यता आउने नेपाल किसान महासंघ भक्तपुरका अध्यक्ष ईन्द्र बहादुर प्रजापतिले बताउनुभयो । स्वदेशी कृषकको दुध खरिद नगर्ने, भुक्तानी पनि नदिने संस्थानले दुग्ध पदार्थ विदेशबाट आयात गर्नु लज्जाको विषय भन्दै उहाँले असक्ष नेतृत्वका कारण अहिलेको परिस्थिती आएको आरोप लगाउनुभयो ।

विरोध प्रदर्शन पश्चात कृषकहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई माग पत्र बुझाएका थिए । मागपत्र बुझ्दै प्रजिअ रोशनीकुमारी श्रेष्ठले कृषकको मागलाई सम्बन्धीत कार्यालयमा ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाउनुभयो ।