टाइब्रेकरमा पराजित हुँदैं वाफमा नेपाल उपविजेतामा सिमित

भक्तपुर, फागुन १८
नेपाली राष्ट्रिय महिला फुटबल टोली टाइब्रेकरमा पराजित हुँदैं वाफ महिला च्याम्पियनसिपमा उपविजेतामा सिमित बनेको छ । फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित हुँदैं नेपाल उपविजेतामा सिमित बनेको हो ।
साउदी अरबको जेद्दाहमा विहीबार सम्पन्न फाइनलमा निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा जोर्डनका लागि आयह अल मजाली, मास्या जेबाराह , नोउर जकास, सारह अबु सबाह र रोजबहान फ्राइजले गोल गरे ।
नेपालका गीता राई, दीपा शाही, हीराकुमारी भुजेलले गोल गर्दा अमृता जैसीको प्रहार भने जोर्डनका गोलकिपरले बचाएका थिए ।
टाइब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले गोल गर्दै स्कोर बराबरीमा ल्याइन् । त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा दिपा शाहीले टप कर्नरमा गोल गरे । त्यसपछि जोर्डनले लगातार दुई प्रहार गोलमा परिणत गर्दा नेपालको हिरा भुजेलको प्रहार गोल भएपनि अमृता जैशीले गोल गर्न सकिनन् । जोर्डनको पाँचौ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो ।


नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो । नेपाल भने ११ औं पटक फाइनलमा पनि उपाधि जित्न सफल भएन । यसअघि साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा पटक पटक चुक्दै आएको नेपाल वाफमा पनि फाइनलमा रोकियो । आमन्त्रित टोलीको रुपमा वाफ खेल्न पुगेको नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।
यसअघि खेलको निर्धारित समयको पहिलो हाफमा सविता राना मगरको गोलले नेपालले १–० को अग्रता लिएको थियो ।
नेपाली टिमका नियमित सदस्य तथा मुख्य गोलकर्ता सावित्रा भण्डारी क्लब ड्युटीका लागि फ्रान्स गएपछि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरेका थिए । सावित्रासँगै अनिता बस्नेत र अनिता केसीको स्थानमा रश्मि कुमारी घिसिङ, दीपा शाही र सविता राना मगर पहिलो रोजाईँमा खेलेका थिए ।
पहिलो रोजाईँमा खेलेकी सविताले आफूलाई प्रमाणित गर्दै २९औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको क्रस जोर्डनी खेलाडीले रोक्ने प्रयास गरेपनि सफल नहुँदा बक्स बाहिर सविताले बल पाइन् र त्यसमा उनले सिधा प्रहार गर्दा जोर्डनी खेलाडीलाई लाग्दै गोलमा परिणत भयो ।


खेलको ७३औं मिनेटमा लाना फेरासले जोर्डनको लागि बराबरी गोल गरिन् । तर नेपाली खेलाडीहरुले अफसाइड भएको भन्दै प्रतिवाद गरेपनि रेफ्रिले निर्णय सच्याउन मानेन । सो गोल भएको बेला प्रिती राई चोटका कारण मैदान बाहिर रहेकाले नेपाल दश जनाले खेलिरहेको थियो । ७५औं मिनेटमा जोर्डनले अर्को गोल गरेपनि सहायक रेफ्रीले अफसाइड झण्डा उठाएपछि नेपालको संकट टरेको थियो ।
८९औं मिनेटमा साराह अबु शाबाहले गोल गरेपछि जोर्डनले २–१ को अग्रता लियो । र जोर्डन जित नजिक पगेको थियो । तर इन्जुरी टाइमको पहिलो मिनेटमा जोर्डनी खेलाडीले बक्समा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पायो । त्यसमा गीता रानाले गोल गर्दै खेल २–२ को बराबरी गर्नुका साथै टाईब्रेकरमा पु¥याएका थिए ।
नेपाली महिला राष्ट्रिय फुटबल टोली विभिन्न प्रतियोगितामा फाइनलमा पुगेर उपविजेतामा सिमित बनेको यो ११ औं पटक हो । नेपाली महिला टोलीले हालसम्म उपाधि जित्न सकेको छैन ।
यसअघि नेपालले विभिन्न प्रतियोगितामा गरी १० पटक फाइनल पुगेपनि सधैँ उपविजेतामै सिमित भएको थियो । जसमा नेपाल साफ महिला च्याम्पियनसिपमा ५ पटक फाइनल खेल्दा पाँचै पटक उपविजेता बनेको थियो । यस्तै दक्षिण एसियाली खेलकुद (साग)मा तीन पटक फाइनल पुग्दा पराजित भयो । यस बाहेक सन् २०१९ मा भारतमा भएको वुमन्स गोल्डकप कप र कीर्गिस्तानमा भएको नादेज्दा कपमा पनि फाइनल पुग्दै उपविजेताममै समेटिएको थियो ।