चाँगुनारायण नगरपालिकामा स्वस्थ बुढ्यौली परियोजना सञ्चालन हुने

भक्तपुर, फागुन १७

चाँगुनारायण नगरपालिकामा स्वीस रेडक्रसको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको साझेदारीमा ‘स्वस्थ बुढ्यौली’ परियोजना सञ्चालन हुने भएको छ । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा प्रतिनिधिहरुको उपस्थितीमा बिहिवार परियोजना सञ्चालन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
चाँगुनारायण नगरपालिकाको तर्फबाट नगर प्रमुख जीवन खत्री र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका तर्फबाट सभापति परशुराम पाण्डेले नगरपालिकामा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरी परियोजना सञ्चालनको सहमति गर्नुभएको हो ।
सो अवसरमा नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाले नगरबासी ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य तथा संरक्षणको क्षेत्रमा सञ्चालन गरेका गतिविधिहरुलाई समेत समावेश गरी स्वस्थ, सुरक्षित, मर्यादित र सक्रिय जीवनयापनको लागि सक्षम बनाउनकोे लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा मार्फत स्वीस रेडक्रसले आर्थिक सहयोग तथा साझेदारीमा परियोजना सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।
उहाँले चाँगुनारायण नगरपालिकाको तर्फबाट आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरुका लागि विभिन्न कार्यक्रमहरु समावेश गरेको जानकारी दिँदैं मानव अधिकारको प्रत्याभुति, सुरक्षित र सम्मानित जीवन जिउन पाउने प्रत्येक ज्येष्ठ नागरिकको मानविय अधिकारको संरक्षण गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरि निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्दै सभ्य तथा स्वस्थ समाजको निर्माण आजको आवश्यकता रहेको जानकारी गराउँदै उहाँले यस प्रकारको कार्यमा चाँगुनारायण नगरपालिका रेडक्रस लगायत अन्य गैरसरकारी संस्थासँग सधै सहकार्य गर्न तयार रहेको बताउनुभयो ।


चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले ज्येष्ठ नागरिकको लागि कार्यक्रम गर्नु भविष्यमा आफ्नै लागि सुरक्षित समाजको निर्माण गर्नु रहेको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण, अक्सिजन निःशुल्क रुपमा वितरण, विभिन्न औषधीहरु निःशुल्क वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ज्येष्ठ नागरिक समुह गठन, बाद्यबाधन सामग्रीहरु वितरण, धार्मिक भ्रमण जस्ता विविध कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले स्वस्थ बुढ्यौली परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला सभापति परशुराम पाण्डेले नेपाल रेडक्रस सोसाइटी सरकारको सहयोगी निकायको रुपमा कार्य गर्दै आएकोमा स्थानीय तहसँगको सहकार्य तथा समन्वयमा ज्येष्ठ नागरीकहरुको लागि कार्य गर्न गइरहेको चाँगुनारायण नगरपालिकालाई धन्यवाद दिनुभयो । उहाँले विगतमा धेरै परियोजनाहरु भक्तपुर जिल्ला शाखा मार्फत नेपाल रेडक्रस सोसाइटीले संचालन गरेको जानकारी पनि गराउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक बालकृष्ण सेँढाईले ज्येष्ठ नागरिकहरुको लागि परियोजना सञ्चालनको आवश्यकता, महत्वका बारेमा जानकारी गराउनुभएको थियोे । उहाँले सहारा परियोजना स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीले सम्झौता गरी पालिकाको नेतृत्वमा समुदायमा सञ्चालन हुन गइरहेको पहिलो परियोजना भएको जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकाका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य तथा सम्पन्नतामा सुधार ल्याउन सहयोग गर्ने, ज्येष्ठ नागरिकहरुको लागि आवश्यक सेवाहरुको पहुँचमा अभिबृद्धि गर्ने र ज्येष्ठ नागरिकहरु प्रति समाजले गर्ने कार्य तथा ब्यवहारहरुमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यका लागि सञ्चालन हुन गइरहेको सहारा परियोजना ज्येष्ठ नागरिक मिलन केन्द्र मार्फत चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा सञ्चालन गरिनेछ ।
जनवरी २०२४ देखि डिसेम्बर २०२६ सम्म ३ वर्षका लागि सञ्चालन हुने परियोजनाको कुल लागत ३ करोडको हुनेछ । स्वीस रेडक्रसले परियोजनाको कम्तीमा ५० प्रतिशत लागत ब्यहोर्नेछ भने बाँकी रकम नगरपालिकाले वार्षिक बजेटबाट विनियोजन गर्नेछ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका मन्त्री धर्मराज कार्की, कोषाध्यक्ष प्रदिप कुमार के.सी, जिल्ला सदस्य एवं वडा नं २ का वडा अध्यक्ष सोमप्रसाद प्रधान, नगरपालिकाका शिक्षा शाखा प्रमुख बीर बहादुर खड्का, सामाजिक विकास शाखा प्रमुख नीला कुमारी घिमिरे, स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवाल, योजना शाखा प्रमुख अनुप लामिछाने, पूर्वाधार विकास शाखा प्रमुख विश्वजीत होना, ने.रे.सो केन्द्रीय कार्यालयका स्वास्थ्य विभागकी निर्देशक मोना अर्याल, उपनिर्देशक बालकृष्ण सेँढाई, अधिकृत राजु राउत, चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ दिनेश थापा, भक्तपुर रेडक्रसका कार्यालय प्रमुख उमा थापा लगायतको उपस्थिती रहेको थियो ।