प्रितीको गोलमा नेपाल वाफ च्याम्पियनसिपको फाइनल प्रवेश

भक्तपुर, फागुन १६
प्रिती राईले खेलको अन्तिम समयमा गरेको मद्दतले नेपाली महिला राष्ट्रिय फुटबल टोली साउदी अरवियामा भइरहेको वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । प्रितीले गएराती सम्पन्न सेमिफाइनलमा दोस्रो हापको इन्जुरी समयमको अन्तिममा गोल गरेपछि नेपाली टोली लेवनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्नेछ ।
जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा भएको दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितीबाट पुनरागमन जित निकालेको हो ।


खेलको ३८औं मिनेटमा नेपाली डिफेण्डर पुजा रानाको आत्मघाती गोलले लेवनानले अग्रता लिएको थियो । पुजाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुँदा नेपाल पछि परेको थियो ।
दोस्रो हाफमा नेपालले लगातार गोल फर्काउने प्रयास ग¥यो । अन्ततः ७६औं मिनेटमा मात्र सफलता मिल्यो र खेल बराबरीमा आयो । नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
सावित्राले रश्मी कुमारी घिसिङको पासमा गरेको प्रहार लेवनानी गोलकिर लमिटाले रोकेपनि पूर्ण रुपमा क्लियर गर्न सकिनन् । रिबाउन्ड बल डिफेण्डर अमिनाले क्लियर गर्ने प्रयास गर्दै गर्दा सावित्राले चलाखीपूर्वक अघि बढ्दै गोल गरेकी हुन् ।


जारी प्रतियोगितामा नेपालले खेलेको चारै खेलमा गोल गरेकी सावित्राको यो नवौँ गोल हो । उनले पहिलो खेलमा सिरिया विरुद्ध १ गोल गरेकी थिइन् भने त्यसपछि इराक विरुद्ध ५ र प्यालेस्टाइन विरुद्ध २ गोल गरेकी थिइन् ।
निर्धारित समयमको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला प्रिती राईले अन्तिम समयमा गोल गर्दै नेपाललाई जित दिलाइन् । ५ मिनेटको इन्जुरी टाइमको अन्तिममा नेपालले कर्नर पाएको थियो । विमला चौधरीले प्रहार गरेको कर्नर बल लेवनानी खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सिधै गोलमा परिणत भयो र नेपालको जित सम्भव भयो ।
पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपाल अब उपाधिबाट एक कदम मात्र टाढा छ । नेपालले अब उपाधिका लागि बिहिवार साविक विजेता जोर्डनको सामना गर्ने छ ।


फाइनल पुगेपछि नेपालकी फरवार्ड सावित्रा भण्डारीले मैदानका कारण पहिलो हाफमा राम्रो खेल्न नसकेको बताइन् । उनले पहिलो हाफमा मैदानमा एडजस्ट हुन कठिन भएको र बल कन्ट्रोल गर्न नसकिएको बताउँदैं दोस्रो हापमा शतप्रतिशत दिँदै जित निकाल्न सफल भएको बताए ।
“पहिलो हाफमा केही कठिन भयो र दोस्रो हाफमा शत प्रतिशत दियौँ र नतिजा निकाल्न सफल भयौँ,” उनले भने । जोर्डन बलियो टिम भएको र नतिजाका लागि फाइट गर्ने बताइन् । उनले विपक्षीलाई सम्मान गर्दै खेल्ने बताइन् ।
यस्तै गोलकर्ता प्रितीले पनि पहिलो हाफमा खेल्न कठिन भएको र दोस्रो हाफमा खेल्न सहज भएको र नतिजा आएको बताइन् । यस्तै प्रितिले आफ्नो गोल फिजियो नविनालाई समर्पण गर्ने पनि बताइन् । आफ्नो कठिन समयमा नविनाले धेरै सहयोग गरेको प्रितिले बताइन् ।