क्रिकेट खेलाडीको मासिक तलब एक लाख

भक्तपुर, फागुन १४
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीलाई मासिक एक लाख रुपैंया तलब दिने भएको छ । क्यानको सोमवार बसेको बैठकले खेलाडीहरुको नयाँ वर्गिकरण सार्वजनिक गर्दै ‘ए’ ग्रेडका पुरुष खेलाडीलाई मासिक एक लाख रुपैंया दिने घोषणा गरेको हो ।
जसअनुसार क्यानको केन्द्रीय सम्झौतामा रहेका ‘ए’ ग्रेडमा खेलाडीहरु कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेलले मासिक एक लाख रुपैंया तलब पाउने भएको हो ।
यसैगरी ‘बि’ ग्रेडमा रहेका कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ सेख र अविनाश बोहराले मासिक ७० हजार, ग्रेड ‘सी’मा रहेका विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी.ले मासिक ५५ हजार तलब पाउने क्यानले जनाएको छ ।
ग्रेड ‘डी’मा रहेका पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेककुमार यादव, आकास चन्द, बसिर अहमद र सूर्य तामाङले मासिक ३५ हजार र इमर्जिङ क्याटोगरीका दिपेश कँडेल (कोशी), रुपेस सिंह (मधेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम)लाई २५ हजार रुपैयाँ मासिक तलब उपलब्ध गराउने समेत क्यानले निर्णय गरेको छ ।


यसैगरी क्यानले १९ महिला खेलाडीहरुलाई केन्द्रीय सम्झौतामा राखेको छ । उनीहरुलाई ग्रेड ‘ए’, ‘बि’, ‘सी’, ‘डी’ र इमर्जिङ क्याटोगरीमा वर्गिकरण गरी तलब निर्धारण गरेको छ ।
जसअनुसार ग्रेड ‘ए’का इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगरले मासिक ५० हजार, ग्रेड ‘बी’का कविता कुँवरले मासिक ३५ हजार, ग्रेड ‘सी’मा रहेका पूजा महतो, अश्मिना कर्माचार्यले मासिक ३० हजार, ग्रेड ‘डी’का अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावलले मासिक २५ हजार र इमर्जिङ क्याटोगरीमा रहेका खेलाडीहरु सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबी पोदार, श्रृष्टि जैसी, सम्झना कुमारी खड़का, सना प्रविनले मासिक २० हजार तलब पाउने भएको छ ।
क्यानले पछिल्लो एक वर्षमा गरेको प्रदर्शन, प्रशिक्षक तथा टिम म्यानेजरको मूल्यांकन लगायतका आधारमा खेलाडीहरुको ग्रेडिङ गरिएको जनाएको छ ।
यस्तै बैठकले प्रतियोगिता समिति संयोजकमा दिवाकर घलेलाई तोकेको छ । प्राविधिक समिति संयोजकमा विक्रम बिष्ट तथा विकास समिति संयोजकमा धिरेन्द्र सावद र महिला क्रिकेट विकास समिति संयोजकमा प्रदिप मजगैया बनाउने निर्णय क्यानले गरेको छ ।


नेपाल ‘ए’ टिमको मूख्य प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षकमा पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी कलाम अली, यू–१९ महिला टिम प्रशिक्षकको जिम्मेवारी महेशप्रसाद रिजाललाई दिने क्यानले निर्णय गरेको छ ।
नेपालको घरेलु क्रिकेट संरचनालाई बलियो बनाउने योजना बमोजिम उमेर समूहको प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको उमेर खुल्ने कागजपत्र, विद्यालयको शैक्षिक प्रमाणपत्रको आधारमा तथा अन्य मापदण्ड बनाई उमेर समूहको प्रतियोगितामा सहभागी गराउने वा नगराउने सम्बन्धमा आवश्यक नीति तथा कार्यक्रम तयार गरी कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि क्यानले गरेको छ ।
नेपालमा आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता २०२७ को तयारी स्वरुप मिसन २०२७ अन्तर्गत यू–१६ महिला अन्तर स्कुल क्रिकेट ट्यालेन्ट हन्ट एवं प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशहरुमा सञ्चालन गर्ने निर्णय क्यानले गरेको छ ।