तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय तिपिटक पाठ २०८० मा मैत्रीपूर्ण सहभागी भएर पुण्य संचय गर्नहुन अखिल नेपाल भिक्षु महासंघको आव्हान

सुनीता तुलाधर शिल्पकार
काठमाण्डौ, फागुन १४ गते, आइतवार ।
अखिल नेपाल भिक्षु महासंघको आयोजनामा भगवान बुद्धको जन्मस्थल लुम्बिनी उद्यानमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय तिपिटक पाठ २०८० हुन गइरहेको छ । यही फागुन २०, २१ र २२ गते त्रिदिवसीय रुपमा नेपाल, भारत, थाइल्याण्ड लगायत विश्वका अन्य मुलुकहरुका भिक्षु महासंघले भगवान बुद्धको पवित्र वचन संग्रहीत तिपिटकको वाचन हुन गइरहेको जानकारी आज एक पत्रकार सम्मेलन गरी आयोजकले दिएका छन् ।
विश्वशान्ति विहार, काठमाण्डौमा भएको उक्त पत्रकार सम्मेलनमा अ.ने.भि. महासंघका महासचिव भिक्षु धर्मगुप्त महास्थविरले बहुजन हित बहुजन सुखका लागि, सत्वप्राणीको कल्याणार्थ संसारमा शान्तिको सन्देश फैलाउन, बुद्ध जन्मभूमि लुम्बिनी, नेपाललाई संसारभर चिनाउने हेतु लुम्बिनीमा तिपिटकको पाठ हुन गइरहेको जानकारी दिनुभयो ।
उहाँले उक्त कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सबैले आ आफ्ना क्षेत्रबाट मैत्रीपूर्ण सहभागीता जनाई पुण्य संचय गर्न पनि महासंघका तर्फबाट आव्हान गर्नुभयो ।
कोरोना अगाडि नेपालमा दुइपटक लुम्बिनीमा तिपिटक पाठ समारोह भइसकेको तथा कोरोना पश्चात तेस्रो पाठ समारोह हुन गइरहेको बताउनुहुँदै महासंघका सचिव भिक्षु निग्रोध महास्थविरले नेपाल सरकार संस्कृति मन्त्रालय, लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय, थाई राजकीय विहार, लुम्बिनी, अन्तर्राष्ट्रिय तिपिटक काउन्सिल, लुम्बिनी साँस्कृतिक नगरपालिका, प्रदेश सरकारसँग सहकार्य गरेर तेस्रो पाठ समारोहको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
लुम्बिनीस्थित थेरवाद बुद्ध विहारको संघावासको उद्घाटन फागुन १९ गते नेपालका संघनायक, उपसंघनायक, लुम्बिनी विकास कोषका उपाध्यक्ष, थाइल्याण्डका भन्तेहरुको समुपस्थितिमा हुनेछ ।
२० गते बिहान थेरवाद बुद्ध विहारदेखि शान्तिदीप हुँदै तिपिटकको शोभायात्रा निकाली मायादेवी परिसर लुम्बिनी पवित्र उद्यानमा नेपालका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्ययमा, नेपालका साथै विभिन्न मुलुकका महास्थविर भन्तेहरुको उपस्थितीमा तिपिटक पाठको उद्घाटन हुनेछ र तिनदिन सम्म लगातार तिपिटक पाठ हुनेछ । प्रत्येक दिन तिपिटकको विनयपिटक, सुत्तपिटक र अभिधम्मपिटक सम्बन्धि धर्मदेशना हुनेछ । अन्तिम दिन शिक्षा मन्त्री अशोक राईको प्रमुख आतिथ्ययमा मैत्री कामना गरी, विश्व शान्तिको कामना गरी दीप प्रज्वलन गरी कार्यक्रम गरीने जानकारी सचिव भिक्षु निग्रोध महास्थविर गराउनुभयो ।
यसको लागि फागुन १८ गते सहभागीहरु सबैलाई लुम्बिनी पुर्याइने जानकारी पनि सो पत्रकार सम्मेलनमा दिइएको थियो ।
अ.ने.भि. महासंघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरको उपस्थितिमा भएको उक्त सम्मेलनमा समारोहका प्रचारप्रसार उपसमितिका संयोजक भिक्षु विमलो स्थविरले स्वागत गर्नुभएको थियो भने भिक्षु मेधंकर स्थविरले कार्यक्रम संचालन गर्नुभएको थियो ।