लुटपाट, चोरी तथा ठगी गरेको आरोपमा १२ जना पक्राउ

भक्तपुर, फागुन १४
काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानमा लुटपाट, चोरी तथा ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले उपत्यकाको टोखा, इमाडोल बासुकीटोलमा लुटपाट र चोरी तथा विभिन्न स्थानमा डलर देखाई ठगी गर्ने १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतवार पत्रकार सम्मेलन गर्दै गत माघ २५ गते काठमाण्डौँको टोखा नगरपालिका–१ झोरमा १ करोड ५२ लाख रुपैयाँ बराबरको धनमाल डकैती गरेको घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले माघ २५ गते टोखाको झोरमा रसुवा गोसाइकुण्ड गाउँपालिका–१ बस्ने वर्ष २५ को कार्साङ लामा र सिन्धुपाल्चोक घर भएका कुसाङ लामाको साथबाट नगद २५ हजार रुपैयाँ, सुनको १८ तोला तौल भएको बुटिल ३ जोर, बहुमूल्य सिमला मुगा मालाजडित सुनको घवा, आईफोन १२ र उनीहरुले चढिआएको ४२८३ नम्बरको मोटरसाइकल गरी अन्दाजी १ करोड ५२ लाख बराबरको धनमाल डकैती गर्नेहरुलाई पक्राउ गरेको बताउनुभयो ।
सो घटनामा पक्राउ पर्नेमा लुटपाटमा संलग्न धादिङ रुवी भ्याली गाउँपालिका–२ घर भई हाल काठमाण्डौं तारकेश्वर नगरपालिका–१, ओमडांडा बस्ने सोनाम थापा तामाङ, सूचना दिने लुटपाटमा संलग्न रसुवा आमाछोदिङमो गाउँपालिका–५ घर भई हाल बुढानिलकण्ठ नगरपालिका ११, कपन फैका बस्ने २७ वर्षिय टाँसी तामाङ रहेका छन् ।


यसैगरी लुटेर ल्याइएको सुन किन्नेहरु महोत्तरी बर्दिबास नगरपालिका–११ घरभई हाल काठमाण्डौं गोंगबु बस्ने ३७ वर्षिय अनन्तराज घिमिरे र भारतको महाराष्ट्र साङली थाना घरभई हाल काठमाण्डौं माछापोखरी बस्ने ३१ वर्षिय आमोल बालुफुके, भारत पश्चिम मोदनापुरको दासपुर थाना घरभई हाल काठमाण्डौं नरदेवी बस्ने ३१ वर्षिय देवासी सावन्त र डाँका गरि ल्याएको सुन बिक्री गर्न सहयोग गर्ने भारत पश्चिम मोदनापुर जिल्ला पाँचकुडा थाना घरभई हाल काठमाण्डौं नरदेवी बस्ने ४४ वर्षिय कार्तिक पाइका रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट नगद १९ लाख ५० हजार रुपैयाँ, .सुनका गर गहनालाई पगाली टुक्रा बनाएको अबस्थामा रहेको २९५.३ ग्राम सुन, ५ थान मोबाइल र ३ थान मोटरसाइकल बरामद गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले बताउनुभयो ।
यसैगरी गत फागुन ६ गते ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल बासुकी टोलस्थित मनिष डाँगीको घरमा ४५ लाख बराबरको धनमाल चोरी गर्ने ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–६ थैचापका २१ वर्षिय अनुप तामाङ र २० वर्षिय रविन तामाङ र ललितपुर गोदाबरी नगरपालिका–६ फैडोलका २४ वर्षिय राजन श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट नगद १ हजार ९९६ रुपैयाँ विभिन्न देशका नोट ५१ थान र विभिन्न प्रकारका गरगहना पनि बरामद भएको जनाएको छ ।
यसैगरी विगत १० वर्षदेखी डलर देखाइ ठगी गर्दै आएका गिरोहका ३ जनालाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–५ घर भई हाल काठमाण्डौ गोकर्णेश्वर नगरपालिका ४ बस्ने ६० वर्षिय राम बहादुर तामाङ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई हाल काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–१ बस्ने ५१ वर्षिय बिबि तामाङ र रौतहट चन्द्रपुर नगरपालिका–७ घर भई हाल काठमाण्डौं महानगरपालिका–२६ गल्कुपाखा बस्ने ३७ वर्षिय फरेन एक्सचेन्ज सेन्टर प्रा.लि.का सञ्चालक शंकर रेग्मी रहेका छन ।
प्रहरीले उनीहरुलाई काठमाण्डौ गोकर्णेश्वर ४, तालिन्चोकबाट नेपाली रुपैंया ७१ हजार र अमेरिकी डलर ६०७ सहित पक्राउ गरेको एसपी रेग्मीले बताउनुभयो । साथै डलर ठगी कार्यमा डलर मिलाई दिने शंकर रेग्मीको साथबाट ३ लाख ६ हजार ५ सय नेपाली रुपैंया र ५८३ अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।