वाफ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनल प्रवेश

भक्तपुर, फागुन १३
नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको ।
नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २, रेखा पौडेल र गीता रानाले १–१ गोल गरे । जारी खेलमा साम्बाले ८ गोल गरिसककी छन् । उनी गोल्डेन बुटको दाबेदार हुन् । उनले इराक विरुद्ध ५ गोल गरेका थिए ।
खेलको ४१औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्द नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको लामो पासमा सावित्राले गोल गरेकी हुन् । दोस्रो हाफमा नेपालले तीन गोल थप्यो । ५९औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सावित्रा भण्डारीले बक्स भित्रबाट हानेको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले रिबाउन्डमा गोल गरिन् ।


त्यसपछि सावित्राले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालको लागि तेस्रो गोल गरिन् । उनले रश्मि कुमारी घिसिङको पासलाई सदुपयोग गर्दै गोल गरिन् ।
इन्जुरी टाइममा सावित्रालाई प्यालेस्टाइनी गोलकिपरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो र सावित्रालाई ह्याट्रिक गर्ने अवसर थियो । तर नेपालका लागि गीता रानाले पेनाल्टी प्रहार गर्दै गोल गरिन् ।
नेपालले समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ र दोस्रो खेलमा इराकलाई ५–० ले हराएको थियो । नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानसँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन् । फाइनल खेल बिहीबार साउदी अरबको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ ।