आज श्री पञ्चमी, भक्तपुरका सरस्वती मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो

भक्तपुर, फागुन २
आज माघ शुक्ल पञ्चमी अर्थात् श्री पञ्चमी । नेपाल सम्बतमा यसलाई सिल्लाथ्व पञ्चमी भनिन्छ । यसै दिनदेखी शिशिर ऋतुको समाप्त भई बसन्त ऋतु शुरु हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ ।
यस दिन विशेष गरी विद्याकी देवी सरस्वतीको विशेष पुजा आराधना गरी विद्या माग्ने प्रचलन रहेको छ । यो दिन बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ ।
यसदिनमा भक्तपुरको चाँगुनारायण नगरपालिका २, सरस्वतीखेलस्थित सरस्वती मन्दिर, वडा नं. ८ सुडाल ल्हासापाको सरस्वती मन्दिर, भक्तपुरको भिमसेनस्थानमा रहेको सरस्वती मन्दिर, नागपोखरी र इनागालमा रहेको सरस्वती मन्दिरमा भक्तजनको घुईचो लाग्ने गर्दछ ।
देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ । अमरकोषमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्, वाणी आदि नामले चिनाइएको छ । शारदा, श्री आदि नामले पनि यिनी परिचित छिन् । पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ । सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसङ्ग प्रख्यात छ । यस्तै मुखबाट उत्पत्ति भएको अर्को प्रसङ्गअनुसार सरस्वतीलाई वाग्देवी (वाक् देवी) भनिएको छ ।
सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्मको आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि–विद्या प्रदान गर्छ भन्ने मान्यता रहेको छ ।
यसदिन नयाँ घर निर्माण, विवाह, व्रतवन्ध, गुफा राख्ने र वेल विवाहलगायत कुनै पनि धार्मिक र सामाजिक शुभकार्य गर्न साइत हेर्नु नपर्ने मान्यता रहेको छ । यसै दिनदेखी काठमाण्डौंको हनुमान ढोकामा बसन्त श्रवण गर्ने प्रचलन पनि रहेको छ ।