मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–दुवै खेल बराबरीमा सकियो

भक्तपुर, फागुन १
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता–२०८० को मंगलवार सम्पन्न दुई वटै खेल बराबरीमा सकिएको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा सानोथिमिस्थित मैदानमा जारी लिगको मंगलवार सम्पन्न पहिलो खेलमा वडा नं. १ र वडा नं. ३ ले गोलरहित बराबरीमा खेले भने दोस्रो खेलमा वडा नं. २ र वडा नं. ८ ले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन ।


प्रतिष्पर्धात्मक बनेको पहिलो खेलमा वडा नं. १ का केही अवसरमा वडा नं. ३ का गोलकिपर बाधक बन्दा साविक उपविजेता वडा नं. १ ले अंक बाड्न बाध्य भएको हो । यस खेलमा वडा नं. ३ का गोलकिपर अमर श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।
दोस्रो खेलमा वडा नं. २ ले खेलको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरी गर्दै एक अंक बटुल्न सफल भए । खेलमा ७ औं मिनेटमा नै वडा नं. ८ ले अग्रता लिएको थियो । मैदानको बीच भागबाट वडा नं. ८ का सुशिल धेकेले उपलब्ध गराएको बललाई जर्सी नं. ११ का दिपक बाँसको पासमा जर्सी नं. १० का सुजन सिपाईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर खेलको ९० औं मिनेटमा वडा नं. २ का उत्सव प्रधानले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हापमा मैदान प्रवेश गरेका उत्सवले खेलको ९० औं मिनेटमा प्राप्त फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याउँदैं टोलीलाई एक अंक दिलाएका थिए ।

तर उक्त गोल लगत्तै उत्सवले रातो कार्ड पाए । उनले विपक्षी टोलीको बेन्च अगाडि गएर गोलको खुशियाली मनाएपछि रेफ्रीले रातो कार्ड दिएर मैदान बाहिर पठाएको हो । यसैगरी वडा नं. ८ का पुर्व राष्ट्रिय खेलाडी बालगोपाल साहुखलले पनि ९० औं मिनेटमा रातो कार्ड पाए । गोलको खुसियाली मनाउन आएका वडा नं. ३ का खेलाडी उत्सव माथि हातपात गर्न गएको आरोपमा बालगोपाललाई रेफ्रीले रातो कार्ड दिएको हो । खेलमा वडा नं. ८ का दिपक बाँस म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगितामा बुधवार दिउँसो साढे १२ बजे पहिलो खेल वडा नं. ४ र वडा नं. ७ बीच र दोस्रो खेल दिउँसो साढे ३ बजे वडा नं. ५ र ६ बीच हुनेछ ।