कांग्रेस नेताहरुद्धारा महासमिति बैठकस्थलको निरीक्षण

भक्तपुर, फागुन २
नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले मंगलवार साँझ महासमिति बैठक स्थलको निरीक्षण गर्नुभएको छ । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले आगामी फागुन ७ देखि हुन गइरहेको महासमिति बैठक स्थल ललितपुरको गोदावरी पुगेर बैठक स्थलको निरीक्षण गर्नुभएको हो । कांग्रेसको महासमिति बैठक यही फागुन ७ देखि १० गतेसम्म हुँदैछ ।
बैठक स्थलको निरीक्षण गर्दै उपप्रधान तथा रक्षामन्त्रीसमेत रहनुभएका उपसभापति पूर्णबहादुर खड्काले अहिलेसम्मको तयारी राम्रो भएको भन्दै आवश्यक थप तयारी जिम्मेवारी अनुसार व्यवस्थित तरिकाले सम्पन्न गर्न आग्रह गर्नुभयो ।


महासमिति बैठकका लागि गठन गरिएका समितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम समयमा सम्पन्न गर्न पनि खड्काले आग्रह गर्नुभएको छ । तयारीका लागि केन्द्रीय समिति वा केन्द्रीय तहबाट गर्नुपर्ने सबै सहयोग र समन्वय गरिने भन्दै सबै तयारी समयमा सक्न उहाँको आग्रह थियो ।
स्थलगत निरीक्षणका क्रममा महासमिति बैठक तयारीका लागि गठित विभिन्न समितिका प्रमुखहरूले आ–आफ्नो जिम्मेवारीमा रहेका कामको अवस्थाबारे बारे जानकारी पदाधिकारीहरूलाई गराएका थिए ।
निरीक्षण कार्यक्रममा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्यहरू उदयसम्शेर राणा, जितजंग बस्नेत लगायतका नेताहरू पनि सहभागी हुनुभएको थियो ।