एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड– एथलेटिक्सका दीपक र राजपुरा उत्कृष्ट खेलाडी घोषित

भक्तपुर, माघ २९
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई वर्ष २०७९ को उत्कृष्ट खेलाडी घोषित भएका छन । दीपक पुरुषतर्फ र राजपुरा महिलातर्फ उत्कृष्ट घोषित भएका हुन । यसैगरी एथलेटिक्सका चन्द्रबहादुर गुरुङले वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते ।
नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा यस संस्करणदेखि सुरु गरिएको शीर्ष तीनबाट दीपक र राजपुरा वर्ष उत्कृष्ट खेलाडी भएका हुन । दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे । महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन् ।
दीपक गत वर्ष स्वदेशमै आयोजना भएको १६औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् । गुरुङको प्रशिक्षणमा १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो । उक्त च्याम्पियनसिपमा नेपालले सिनियरमा दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा दुई रजत र एक कांस्य पदक प्राप्त गरेको थियो । प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे ।
वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए । उत्कृष्ट प्रशिक्षक चन्द्रबहादुरले पनि पल्सर एन १६० मोटरसाइकल पाए ।
टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् । सिक्काले सर्वाधिक ४४.८ प्रतिशत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा करातेका विप्लभलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए । सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् ।

युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । उनी नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसिसी यु–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन् । देवकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा हराउँदै एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । उनले एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जिते । देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए ।
एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिशंखे सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन् । उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छन् । लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे । खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन् । प्रधानले पनि अवार्ड र ५० हजार रुपैयाँ प्राप्त गरे । स्पेसल अवार्डबाट फोटो पत्रकार र पोखरेली खेलकुद अभियन्ता सुदर्शन रन्जित सम्मानित भए । उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन् । एसियन स्पोर्टस जर्नालिस्ट अवार्डबाट हङकङ चि चेन फाइलाई प्रदान गरिएको छ ।
कुल ९ विधामध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सको तर्पmबाट एक वर्षका लागि खेलकुद विमा पाउनेछन् ।
२०औं संस्करणको पल्सर अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । स्पोर्ट्स अवार्डको सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा होटल ग्रुप, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।