मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल आजदेखी शुरु हुने

भक्तपुर, माघ २९
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करण आजदेखी सानोथिमिस्थित मध्यपुर खेल मैदानमा शुरु हुँदैंछ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता २०८० आजदेखी शुरु हुन लागेको हो ।
प्रतियोगिताको उद्घाटन दिउँसो १ बजे प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले गर्ने कार्यक्रम रहेको एशोसियसनका अध्यक्ष एवम् प्रतियोगिता प्राविधिक समितिका संयोजक उपेन्द्रमान सिंहले जानकारी दिए ।
उद्घाटन कार्यक्रमपछि साविक विजेता वडा नं. ९ र गत पहिलो संस्करणमा अंक तालिकाको पुछारमा रहेको वडा नं. ४ बीच दिउँसो ३ बजे पहिलो खेल हुनेछ ।
प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाका ९ वडाका ९ वटा टोली सहभागी रहेका छन । सिंगल राउण्ड रोविन लिगका आधारमा खेलाईने प्रतियोगितामा सहभागी टोलीले एक आपसमा ८ खेल खेल्नेछन र कुल ३६ खेल सञ्चालन हुने सिंहले बताए । अंक तालिकाको शिर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन ।
प्रतियोगितामा मध्यपुर थिमिका स्थानीय खेलाडीहरुले मात्र प्रतिष्पर्धा गर्न पाईने नियम छ । मध्यपुर थिमिमा फुटबलको खेल विकास गर्ने र स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएकोले स्थानीय खेलाडीलाई मात्र खेलाईने नियम राखिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।