नेपाली कांग्रेस महासमिति बैठक प्रचार प्रसार समिति बिस्तार

भक्तपुर, माघ २६
नेपाली कांग्रेसको आगामी फागुन ७ गतेदेखि प्रारम्भ हुने पार्टीको महासमिति बैठकको प्रचार प्रसारको लागि गठन गरिएको प्रचार प्रसार उपसमिति बिस्तार गरिएको छ । उपसमिति संयोजक एवम् पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शुक्रवार उपसमिति बिस्तार गर्नुभएको हो ।
संयोजक विश्वकर्माले उपसमितिमा किरण गिरी, काठमाण्डौं, बद्री सिग्देल, बर्दिया, सरोज अधिकारी, धादिङ, रोजी पराजुली ढकाल, मोरङ, महेश्वर गौतम, काठमाण्डौ, केदारनाथ दाहाल, ललितपुर र जगत प्रजापति, भक्तपुरलाई सदस्य मनोनयन गर्दै उपसमिति बिस्तार गर्नुभएको गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसअघि गत माघ २१ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पनु भएको थियो ।
महासमितिको बैठक तयारी मूल समितिका संयोजक समेत रहनुभएका देउवाले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गर्नुभएको थियो ।
यसैगरी स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा ईन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर)लाई जिम्मेवारी प्रदान गरेको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।