मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–पहिलो खेल वडा नं. ९ र ४ बीच हुने

भक्तपुर, माघ २६
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता–२०८० को पहिलो खेल साविक विजेता वडा नं. ९ र वडा नं. ४ बीच हुने भएको छ । प्रतियोगिता आयोजक मध्यपुर युथ एशोसियसनले शुक्रवार खेल तालिका प्रकाशन गर्दै पहिलो खेल वडा नं. ९ र वडा नं. ४ बीच हुने जनाएको हो ।


प्रतियोगिताको उद्घाटन यही माघ २९ गते सानोथिमिस्थित खेल मैदानमा हुँदैंछ । पहिलो खेल माघ २९ गते दिउँसो ३ बजे हुने एशोसियसनका अध्यक्ष एवम् प्रतियोगिताको प्राविधिक समिति संयोजक उपेन्द्रमान सिंहले जानकारी दिए ।
उनका अनुसार प्रत्येक दिन दुई खेल हुनेछ । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल दिउँसो ३ बजे खेलाईने तालिका रहेको छ ।


यसैबीच मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिताका टोलीहरुको जर्सी शुक्रवार सार्वजनिक गरिएको छ । आयोजक एशोसियसनले शुक्रवार आयोजित सहभागी टोलीका कप्तान, टिम मनेजरहरुको बैठकमा जर्सी सार्वजनिक गरिएको हो । प्रत्येक टोलीले दुई प्रकारको जर्सी सार्वजनिक गरेको प्रतियोगिता अनुशासन समितिका संयोजक अष्ट कवेले बताए ।