क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

भक्तपुर, माघ २५
कप्तान रोहित पौडेलेको उत्कृष्ट बलिङ मद्दतले नेपालले क्यानडा विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा बिहिवार ७ रनको रोमान्चक जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडालाई ४८ औं ओभरमा २ सय १७ रनमा अलआउट गर्दै ७ रनको जित हासिल गरेको हो ।
नेपालको जितमा कप्तान रोहितले ८.५ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए । उनको उत्कृष्ट बलिङमा ३३ औं ओभरमा १७४–३ को बलियो स्थितिमा रहेको क्यानडाले अन्तिम ७ विकेट मात्र ४३ रनमा गुमाएको हो ।
नेपालले प्रस्तुत गरेको मध्यम लक्ष्य पछ्याउने क्रममा मध्यक्रममा निकोलस किर्तन र पर्गत सिंहले अर्धशतक प्रहार गर्दै इनिङ सम्हालेपछि क्यानडाको जिततर्फ उन्मुख भएको थियो ।
तर ३८ औं ओभरमा श्रेयस मोभा १ रन जोड्दै रोहितको बलमा क्याच आउट भएपछि क्यानडाको विकेट खस्ने क्रम शुरु भयो । ४१ औं ओभरमा पवन सर्राफले किर्तनलाई बोल्ड गरेपछि नेपालले खेलमा फर्कने सम्भावना जगायो । किर्तनले ९९ बलमा ७ चौकासहित ६८ रन जोडे ।
४४ औं ओभरमा उदय भगवान रोहितको बलमा बोल्ड भए । त्यसपछि कप्तान साद बिन जफर ललित नारायण राजवंशीको एलबीडब्लु धरापमा पर्दा क्यानडा २०७–८ को स्थितिमा पुगेको थियो ।


४७ औं ओभरमा ललितले हेलिगरलाई ३ रनमा एल्बीडब्लु आउट गर्दै जितनजिक पुर्याए । रोहितले ४८ औं ओभरको पाँचौ बलमा इश्वरजोत सोहिलाई बोल्ड गरेपछि नेपालले खेलका रोमाञ्चक जित दर्ता गर्यो ।
क्यानडाले सुरुवाती ६ ओभरमा २ विकेट गुमाएपनि त्यसपछि दुई ठूला साझेदारी गर्दै खेलमा पुनरागमन गरेको थियो । डेब्यु गरिरहेका बायाँ हाते बलर रिजन ढकालले नवनित धलिवललाई तेस्रो ओभरमा स्लिपमा क्याच गराए । छैटौं ओभरमा सोमपालले आरोन जोन्सनलाई एलबीडब्लु धरापमा पारे । उनले १५ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएका थिए । तर त्यसपछि तेस्रो विकेटका लागि निकोलस किर्तन र पर्गत सिंहले ७९ रनको साझेदारी गरे ।
२० औं ओभरमा पर्गत कप्तान रोहित पौडेलको बलमा क्याच आउट हुँदा साझेदारी तोडिएको थियो । तर त्यसपछि पुनः किर्तनले हर्ष ठाकरसँग बलियो साझेदारी गरे । ठाकरले ३३ औं ओभरमा कुशल मल्लको बलमा बोल्ड हुनुअघि ६० रनको साझेदारी गरे । उनले ४३ बलको सामना गर्दै ३२ रनको योगदान दिए । तर त्यसपछि नेपाली स्पिनरले लगातार विकेट लिँदै खेलमा फर्काए ।
नेपालका लागि कप्तान रोहितले ४ विकेट लिंदा ललित राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० औं ओभरको अन्तिम बलमा अलआउट हुनुअघि २ सय २४ रनको योगफल खडा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५८ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ६२ रन बनाए । यस्तै आरिफ शेखले ३८ रनको योगदान गरे ।


पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेपछि ओपनर आशिफ २४ बलमा ८ रन मात्र बनाएर १०औ ओभरको पहिलो बलमा उदय भगवानको बलमा थर्ड–म्यानमा क्याच आउट भए । कप्तान रोहित पौडेल पनि १७ बलमा ८ रन मात्र बनाएर १५औ ओभरमा इश्वरजोत सोहिको बलमा आउट भए ।
कुशल आउट हुने तेस्रो ब्याटर थिए । उनी १९औ ओभरमा क्यानाडाका कप्तान साद बिन जफरको बलमा स्टम्प भएका थिए । भिम सार्की पनि सादकै बलमा १७ रन बनाएर २३औ ओभरमा पेभेलियन फर्किए ।
कुशल मल्लले मध्यम सुरुवात गरेपश्चात ३२ बलमा २० रन बनाएर हर्ष ठाकेरको बलमा लङ्ग–अनमा क्याच आउट हुन पुगे । आरिफ शेखले केही बेर इनिङ सम्हाल्दै ५० बलमा ४ चौका सहित ३८ रन बनाएर भगवानकै बलमा बोल्ड हुन पुगे । त्यसपछि आउट भएका र धेरै समय पछि राष्ट्रिय टोलीमा फर्किएका पवन सर्राफले १५ रन मात्र बनाउन सके ।
सोमपाल कामी २३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रन बनाएर ४९औ ओभरमा ठुलो सट प्रहार गर्ने क्रममा लङ–अनमा क्याच आउट भए । आज डेब्यु गरिरहेका रिजन ढकालले ४ रन बनाए । ललित नारायण राजबंशी १ रन बनाएर इनिङको अन्तिम बलमा रनआउट भए । डेब्यु गरिरहेका अर्का खेलाडी सुर्य तामाङ १० रनमा नटआउट रहे ।
क्यानाडाका लागि उदय भगवानले ८ ओभरमा १ मेडनसहित ४० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । कप्तान साद बिन जफरले १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । यस्तै शाहिद अहमदजै, हर्ष ठाकेर र इश्वरजोत सोहीले समान १ विकेट लिए । सिरिजको अर्को खेल शनिवार हुनेछ ।