आयुर्वेद स्वास्थ्य सेवामा विदेशी पर्यटकको आकर्षण

भक्तपुर, माघ १२
आयुर्वेद स्वास्थ्य सेवामा विदेशी पर्यटकहरु समेत आकर्षित हुन थालेका छन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा विदेशी पर्यटकले समेत सेवा लिनुले यसमा विदेशी पर्यटक समेत आकर्षित हुन थालेको पाईएको हो ।
केन्द्रले शुक्रवार आयोजना गरेको आयुर्वेद स्वास्थ्यको प्रवर्धनका लागि स्थानीय पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा केन्द्रका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले गत आर्थिक वर्षमा २२ जना विदेशी पाहुनाले आयुर्वेदको स्वास्थ्य सेवा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष ५ महिला र एक पुरुष गरी ६ जना विदेशीले सेवा लिई सकेका छन ।
उहाँले विशेष गरी नगरकोट गएका पर्यटकले कमलविनायकस्थित केन्द्रबाट सेवा लिएको बताउनुभयो । “विदेशीहरु जो आयुर्वेदबारे जानकारी भएका र यसबारेमा चासो भएकाहरुले केन्द्रको कार्यालय देखेर सेवा लिन आएको पाईन्छ,” उहाँले भन्नुभयो ।
उहाँले विदेशी पर्यटकहरुले विशेषगरी नाडीको जाँचका साथै पेटको वायु सम्बन्धी स्वास्थ्य परीक्षण गराउने गरेको जानकारी दिनुभयो । “विशेषगरी नगरकोटको उचाईमा गएर आएका र जान लागेका पर्यटकहरुले नाडी जाँचका साथै नेपालको रहनसहन र खानपानका कारण पेटमा आएको वायुको समस्याको परीक्षण गराउन केन्द्रमा आएको पाईन्छ,” उहाँले भन्नुभयो ।


कार्यक्रममा उहाँले भक्तपुरमा पहिलो पटक अग्नीकर्म सेवा शुरु गरिएको जानकारी समेत दिनुभयो । केन्द्रका स्वास्थ्यकर्मीलाई पर्साको विरगञ्जमा पठाएर १५ दिनको प्रशिक्षण पश्चात केन्द्रमा सो सेवा शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले अग्नीकर्म सेवा विशेषगरी हाडजोर्नी, नशा सम्बन्धी दुखाईको लागि लाभदायक रहेको बताउँदैं सुन, चाँदी र पञ्चधातुको सियोको तातोले पोलाएर यसले उपचार गरिने जानकारी दिनुभयो ।
केन्द्रले स्तनपायी आमा सेवा अन्तर्गत कम्तीमा ६ महिनासम्म शिशुलाई आमाको मात्र दुध खुवाउनको लागि आमाको दुधमा बृद्धि गर्ने, दुध नआउने समस्याको निदानका सेवा उपलब्ध गराउँदैं आएको बताउनुभयो ।
यसैगरी केन्द्रले पथ्याहार कार्यक्रम अन्तर्गत प्रत्येक आइतवार बिहान ९ बजेदेखी ३ बजेसम्म ५० जनासम्मलाई नेपाली परम्परागत स्वस्थ र पोसिलो खाना बनाएर निःशुल्क खुवाउँदैं आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा डा गिरीले चालु आर्थिक वर्षको ६ महिनामा बहिरंग सेवामा ७ हजार ३७४ महिलासहित १२ हजार ३८५ जनालाई सेवा प्रदान गरेको जानकारी दिनुभयो । यसका साथै केन्द्रले पूर्वकर्ममा १ हजार १५६ महिलासहित १ हजार ७७६, अकुपंचरमा १ हजार २९८ महिलासहित २ हजार १४५, प्याथोलोजी ल्यावमा ४ हजार २५३ महिलासहित ७ हजार ७२६ जनालाई सेवा प्रदान गरेको छ ।
यसैगरी औषधी वितरण, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमा, योग, स्वस्थ जीवन प्रवर्धन, मूख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रमलगायतका सेवामा समेत गरी चालु आवको पहिलो ६ महिनामा ४२ हजार ८२८ सेवा प्रदान गरिएको डा. गिरीले जानकारी दिनुभयो ।


उहाँले केन्द्रले सबै प्रकारका सेवा निःशुल्क प्रदान गर्दै आइरहेको र २३ थरी औषधी समेत निःशुल्क वितरण गर्दै आइरहेको बताउनुभयो । उहाँले निःशुल्क बाहेकका औषधीहरु समेत केन्द्रको आफ्नै फार्मेसी सञ्चालन गरी १० प्रतिशत छुटमा औषधी बिक्रि गर्दै आइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले आयुर्वेद स्वास्थ्यको सेवालाई आमजनमानसमा पु¥याउन स्थानीय पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भक्तपुरमा आयुर्वेद स्वास्थ्य सेवामा सेवाग्राहीको चाप बढ्नु खुसीको विषय भएपनि यसलाई थप परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले सरकारकै कारण आयुर्वेद स्वास्थ्य आझेलमा परेको बताउनुभयो । उहाँले सेवाग्राहीको चाप बढेपनि सो अनुसारको जनशक्ति, सेवा सुविधा बिस्तार र औषधीको नियमित र आवश्यक मात्रामा व्यवस्था गर्न नसक्नु सरकारको कमजोरी भएको औंल्याउँदै पछिल्लो समय भक्तपुरमा आयुर्वेद स्वास्थ्य सेवाबारे जनचासो बढेको र प्रचारात्मक कार्यक्रमले गर्दा पनि सेवाग्राहीको चाप बढेको बताउनुभयो ।
केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारीले पछिल्ला तीन वर्षमा जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले धेरै फड्को मारेको र गुणस्तरीय सेवा प्रदान गरे सेवाग्राहीको चाप बढ्छ भन्ने पुष्टि गरेको बताउनुभयो ।
उहाँले केन्द्रको आफ्नै भवन निर्माणको लागि जग्गा प्राप्तीको प्रक्रिया अन्तिम चरणमा पुगेको र प्रदेश सरकारले पनि भक्तपुरमा १६ शैयाको आयुर्वेद अस्पताल बनाउन स्विकृती दिएको जानकारी गराउँदैं सबैको साझा एजेण्डाको रुपमा यसलाई अघि बढाउन सके केही वर्षमा भक्तपुरमा आयुर्वेद अस्पताल निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।