अफगानिस्तानलाई हराउँदैं नेपाल आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश

भक्तपुर, माघ १२
कप्तान देव खनाल र तिब्र गतिका बलर आकाश चन्दको उत्कृष्ट प्रर्दशनको मद्दतले नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा शुक्रवार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको छ ।
अफगानिस्तानले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्दै रोमाञ्चक जित निकालेको हो । नेपालको जितमा कप्तान देव खनालले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले । उनले ८९ बल खेल्दै ७ चौकाको मद्दतले ५८ रन बनाएका हुन् । त्यस्तै तिब्र गतिका बलर आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए ।
खेलमा नेपालको व्याटिङमा खराव शुरुवात रह्यो । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो । अर्जुन चौथो ओभरमा फरिदुन दावुडजाइले १ रनमा रहेको अवस्थामा बोल्ड गरेका थिए । यस्तै आज ब्याटिङ अर्डरमा माथि ब्याट गर्न आएका गुलशन सातौं ओभरमा १२ बलमा १ रन बनाएको अवस्थामा खलिल अहमदले बोल्ड आउट गरे ।


विपिन पनि खलिलकै बलमा १९ बलमा २ रन बनाएर आउट हुँदा नेपाल८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि कप्तान देव खनाल र आकाश त्रिपाठी मिलेर ९० बलमा ४९ रनको साझेदारी गरेर नेपालको इनिङ सम्हालेका थिए ।
स्पिनर नासिर खानले त्रिपाठीलाई १६ रनमा अली अहमदबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । त्रिपाठीले ३९ बलमा १ चौका प्रहार गरे । दीपेश कँडेल ४ र दीपक डुम्रे ५ रनमा आउट भएका थिए ।
दीपक बोहरा ४२ बलमा ४ चौकासहित २७ रनमा आउट भए । टिमलाई जितको लागि ६ रन चाहिँदा दीपक बोल्ड आउट भएका थिए । आकाश १ रनमा आउट भए । सुवास भण्डारी २९ बलमा १ चौकासहित ९ रनमा अविजित रहे ।

अफगानिस्तानका फरिदुन दावुड्जाईले ४.४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । खलिल अहमद र नासिर खानले २–२ विकेट लिए । अरब गुल र घजान्फरले १–१ विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो । अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए ।
एक समय अफगानिस्तान २०.३ ओभरमा ८८–८ को अवस्थामा पुगेको थियो । तर नवौं विकेटका लागि फरिदुन डावुड्जाई र कप्तान नासिर खानले ५५ रनको साझेदारी गर्दै अफगानिस्तान इनिङ उकासे । नासिर खान ८३ बलमा ३ चौकासहित ३१ रनमा दीपेश कँडेलको बलमा कट एन्ड बोल्ड आउट भए । फरिदुनले ६५ बलमा ४ चौकासहित २९ रन बनाए ।
नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा दीपक डुम्रेबाट क्याच आउट गराउँदै पहिलो सफलता दिलाए ।
त्यसपछि अर्का तीव्र गतिका बलर आकाश चन्दले पाँच विकेट लिदै अफगानिस्तानलाई दवाबमा राखे । आकाशको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे । त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै अफगानिस्तानलाई ३४–५ को दयनीय अवस्थामा र्पुयाएका थिए । आकाशले २० रन बनाएका हसन इशाखिललाई दीपेशबाट क्याच गराए । उनले ३५ बलमा ४ चौका हानेका थिए ।


नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए । सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।
नेपालले अब सुपर सिक्सको समूह १ मा समूह ए को विजेता र उपविजेता सँग खेल्नेछ । समूह ए मा भारत शीर्ष २ स्थानमा रहने पक्का हुँदा बंगलादेशले पनि पछ्याउने सम्भावना रहेको छ ।
नेपालले अब ३१ जनवरीमा समूह ए को उपविजेता तथा फेब्रुअरी ३ मा समूह ए को विजेतासँग खेल्नेछ । सुपर सिक्समा समूहको अंक पनि जोडिने हुँदा नेपालले सेमिफाइनलमाको सम्भावना राख्न दुवै खेल जित्नुपर्नेछ । समूह १ र २ का शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।