भक्तपुर, माघ ११
एक महिने स्वस्थानी कथा वाचन र माधवनारायण व्रत बिहिवारदेखी शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखी माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म स्वस्थानीको कथा वाचन र माधवनारायणको व्रत बस्ने परम्परा अनुसार बिहिवारदेखी सो व्रत शुरु भएको हो ।
विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन् । व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ । यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
नेपाल संवतको आठौं शताब्दीदेखि सुरु भएको विश्वास गरिने एक महिने स्वस्थानी व्रत कथाको भूमिका खण्डमा उल्लेख भए अनुसार यसका कथयिता स्कन्द अर्थात् कुमार हुन् र प्रथम श्रोता अगस्त्य मुनि हुन । स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ । साथै यो पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने आधार पनि चर्चित छ ।
यो अवधीमा काठमाण्डौंको साँखुस्थित शालीनदीमा विशेष मेला लाग्दछ । शालीनदीमा यसवर्ष व्रत बस्ने व्रतालुको संख्या करिव २ सय जना रहेको श्री माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनुभयो । शालीनदिका व्रतालुहरुले एक महिने अवधीमा पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेव, भक्तपुरको चाँगुनारायण, काभ्रेको पनौतीलगायतकाको भ्रमण गर्दछन ।
विधिपूर्वक व्रत नबस्नेले पनि बिहान वा साँझमा स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्छन् । स्वस्थानीको महिमा भएको ३१ अध्यायको स्वस्थानी कथा नेपाली भाषामा सर्वसुलभ छ । पहिले पुराणबाट नेवारी भाषामा रचिएको श्रीस्वस्थानी कथा पछि नेपाली भाषामा अनुवाद गरिएको बताइन्छ ।
यसैबीच भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीमा पनि एक महिने माधवनारायण व्रत शुरु भएको छ । काठमाण्डौंको शालीनदिमा स्वस्थानीको व्रत बस्ने प्रचलन भन्दा अघि भक्तपुरको हनुमानघाटमा व्रत बस्ने प्रचलन शुरु भएको विश्वास गरिन्छ ।
माधवनारायणको व्रत बस्ने व्रतालुहरुले व्रत शुरु गर्नु अघिल्लो दिन देखि निराहार बस्नु पर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले माधवनारायणलाई पूजा गर्नुपर्ने, शंखजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ । पुरुष व्रतालुहरुले शरिरमा एकसरो सेतो कपडा लगाएर खोलामा टाउको देखिनी गरी विन्ती गरी स्नान गरिसके पछि जमिनमा घस्रँदै विभिन्न मन्दिरमा दर्शनका लागि जाने परम्परा छ ।
व्रतालुहरुले बिहानै हनुमानघाटमा माधवनारायणको आवश्यक विधिवत पुजाआजा गरी नगरका विभिन्न ठाउँबाट विभिन्न बार र तिथि मिलाएर कोहिले शंख बजाउँदै कोही घिस्रिएर र कोही जीउ नापेर विभिन्न जाने परम्परा रहेको छ ।
यस बेला स्थानियले पराल र छ्वालीको आगो बालेर व्रतालुलाई आगो तपाउने गरिन्छ। अगाडि चोखो वस्त्र लगाएका महिलाहरुले छ्वाली र कुचोले बरालेपछि सेतो लामो कपडाको बासा लाएका (कपडा विछ्याएर) लाने परम्परा छ ।
यो परम्परा नगरका माथिल्लो टोलका बाखुपति नारायण, टौमढीस्थित तिलमाधव नारायण, बंशगोपालको माधवनारायण, इताछेंस्थित ख्वाली नारायण, तुलाछें नारायण लगायत नगरका २४ टोलका २४ नारायणहरुको दर्शन गर्ने परम्परा रहेको संस्कृतिकर्मी ओम धौभडेलले जानकारी दिनुभयो । माधवनारायणको पुजामा नारायण लगायत भक्तपुर नगरमा भिमा एकादशीका दिन परदेशी भिमसेन र श्रीपञ्चमीको दिनमा सरस्वती मन्दिरबाट समेत सिलामन तुले गरिन्छ ।
यहाँ ब्रत बसेकाहरु भक्तपुर नगरलगायत पशुपति, पनौती र चाँगुनारयणको समेत दर्शनका लागि जाने परम्परा रहेको धौभडेलले बताउनुभयो । ब्रत बसेर सिलामन तुले गर्दा र जिउनाप्दा धार्मिक दृष्टिकोणले मनले चिताएको इच्छा पुरा हुने, परिवारमा सुख शान्ति मिल्ने जनविश्वास रहेको छ । माधवनारायणको एक महिना ब्रत बस्दा नियमित रुपमा ब्रत पुजासकेपछि दैनिक टौमढीस्थित तिलमाधव नारायण र जोर गणेशको दर्शन गरेर मात्र खाने परम्परा छ ।