आमाले कलेजो दिएर बचाईन तीन वर्षिय छोराको जीवन

भक्तपुर, माघ ११
कलेजोको क्यान्सरका कारण मृत्युसँग संघर्ष गरिरहेका तीन वर्षिय बालकलाई आमाले कलेजो दिएर बचाएका छन । वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले ३ वर्षीय छोरा रिसवलाई कलेजो दिएर ज्यान मात्र बचाएनन् आमाका लागि उसका सन्तान मुटुको टुक्रासरह हुन्छन् भन्ने पुस्तौँदेखिको भनाइलाई चरितार्थ समेत गरेर देखाउनुभयो ।
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिएका ३ वर्षिय बालक रिसव गत माघ ७ गते आइतवार डिस्चार्ज समेत भइसकेका छन । स्वास्थ्यमा क्रमिक सुधार आएपछि बालकलाई डिस्चार्ज गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रमा प्रत्यारोपण गरिएको अंग दान दिनेमा आमाहरु बढी रहेको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो । आमाहरु स्वभावैले दयालु हुने भएकाले पनि छोराछोरीलाई अंगदान दिने सवालमा आमाहरु अघि सर्ने गरेको उहाँले बताउनुभयो ।
सोही क्रममा ३ वर्षिय बालकलाई पनि आमा अघि सरेर कलेजो दान दिने इच्छा व्यक्त गरेपछि सोही अनुसार प्रक्रिया अघि बढाएको र कलेजो म्याच पनि गरेकोले अन्य व्यक्तिको परीक्षण नगरिएको उहाँले स्पष्ट पार्नुभयो ।
रिसवको गत पुस २७ गते डा.श्रेष्ठको नेतृत्व टोलीले सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको थियो । बालकको शल्यक्रियामा ५० जान चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले १४ घण्टा समय लगाएको श्रेष्ठले बताउनुभयो । डा श्रेष्ठको नेतृत्वमा भएको प्रत्यारोपणमा केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीले सार्वजनिक बिदाका दिन पनि काम गरेका हुन् ।


प्रत्यारोपणमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पुजा अमात्य लगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा वर्षा वर्मा तथा भारतीय चिकित्सकको पनि सहभागिता रहेको थियो । प्रत्यारोपणका लागि सघाउन भारतको दिल्लीस्थित म्याक्स अस्पतालका डा.सुवास गुप्ताको टोली आएको थियो ।
डा. श्रेष्ठका अनुसार बालकको कलेजोमा क्यान्सर देखिएपछि प्रत्यारोपण गर्नु परेको हो । ‘ती बालकलाई कलेजोको क्यान्सर (हेपाटो ब्लास्टोमा) भएको रहेछ । अभिभावकहरु बालकलाई लिएर भारत समेत जानु भएको रहेछ । प्रत्यारोपणका लागि ठूलो रकम खर्च हुने भनिएपछि पुनः नेपाल फर्कनु भयो । हामीकहाँ आउनु भयो र प्रत्यारोपण गरियो । अहिले बच्चाको स्वास्थ्य अवस्था सामान्य छ,’ डा. श्रेष्ठले भन्नुभयो ।
अहिले प्रत्यारोपण सफल भएपनि केही समयपछि प्रत्यारोपण गरिएको कलेजोमा क्यान्सर पैmलन नदिन किमो थेरापी दिनुपर्ने बताउँदैं डा. श्रेष्ठले त्यसका लागि क्यान्सरका चिकित्सकसँगको सहकार्यमा थप उपचार शुरु गर्ने जानकारी दिनुभयो । उहाँले आमालाई भने प्रत्यारोपण गरिएको छैंटो दिनमा नै डिस्चार्ज गरिएको बताउनुभयो ।
केन्द्रका वरिष्ठ प्रशासन सहायक विश्वनाथ पौड्यालका अनुसार १५ देखि २० लाखसम्म रुपैयाँ कलेजो प्रत्यारोपणमा खर्च लाग्ने भए पनि ती बालकको १५ लाख मात्रै अस्पतालले लिएको छ ।
नेपालमा कलेजो प्रत्यारोपणको शुरुवात गरेको केन्द्रले सबै भन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको छ । केन्द्रले शुरुको केही वर्ष वार्षिक एक दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष १० जनाको सफल कलेजो प्रत्यारोपण गरी सकेको छ भने केन्द्र स्थापनाको ११ वर्ष अवधिमा १ हजार १८८ जनाको मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण समेत भई सकेको छ ।