आईसीसी यू–१९ विश्वकप–नेपाल पाकिस्तानसँग पराजित

भक्तपुर, माघ ११
दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल समूह चरणको दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि न्युजिल्यान्डसँग पराजित भएको नेपालले समूहको अन्तिम खेलमा शुक्रवार अफगानिस्तानसँग खेल्दैछ । उक्त खेलको विजेताले सुपरसिक्समा स्थान बनाउने छ ।
समूह डी को खेलमा नेपालले तयार पारेको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाउँदैं जित निकाल्यो र लगातार दोस्रो जितसँगै सुपर सिक्समा स्थान बनायो । पाकिस्तानको जितमा आजन आविसले ८२ बलमा ६ चौकासहित नटआउट ६३ रन जोडे । उनले दीपक डुम्रेलाई चौका हान्दै खेल अन्त्य गरेका थिए ।
जवाफी ब्याटिङ गर्ने क्रममा ओपनर शम्याल हुसेन र शाहजैब खानले पाकिस्तानलाई उत्कृष्ट सुरुवात दिलाए । हुसेन र खानले २१.२ ओभरमा ८० रनको साझेदारी गर्दै संयमित सुरुवात दिलाएका थिए । तर तीव्र गतिका बलर आकाश चन्दले २२ औं ओभरमा दुबै ओपनरलाई आउट गरेपछि नेपालले खेलमा फर्किन सक्ने सम्भावना देखाएको थियो । हुसेन ५९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । खान ७० बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए ।


आकाशले अरफत मिन्हासलाई ८ रनमा सट बलमा दीपक डुम्रेबाट क्याच आउट गराउँदै पाकिस्तानी टिमलाई केही दबाबमा राख्न सफल भए । कप्तान साद बेग आकाश त्रिपाठीको बलमा दीपक बोहराबाट क्याच आउट भएका थिए । एक समय पाकिस्तान ८०–० बाट १०४–४ को अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि आजन आविस र अहमद हसनले ८५ बलमा ६४ रनको साझेदारी गरेपछि नेपाल ५ विकेटको हार व्यहोर्न बाध्य भयो ।
नेपालका आकाश चन्दले ९ ओभरमा ३४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । आकाश त्रिपाठी र दीपेश कँडेलले १–१ विकेट लिए । गुल्सन झाले १० ओभरमा २९ रन खर्चिदा विकेट भने लिन सकेनन् ।
त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ५० ओभरमा १९७ रनमा अल आउट भएको थियो । नेपालले राम्रो सुरुवात पाएपनि मध्यक्रममा विकेट गुमेपछि अपेक्षित रन बन्न सकेन । पाकिस्तानका स्पिनरविरुद्ध नेपाली ब्याटर खुल्न नसक्दा मध्यम योगफल मात्र बन्न सक्यो ।
नेपालले ५० ओभर ब्याटिङ गरेपनि ११ चौका र ३ छक्का मात्र प्रहार गर्न सक्यो । पाकिस्तानका दुई मुख्य स्पिनरले २० ओभरमा मात्र ३८ रन खर्चेका थिए । पुनः एकपटक तल्लोक्रमका ब्याटरले नेपालका लागि महत्त्वपूर्ण योगदान दिँदै मध्यम योगफलसम्म पुर्याए ।


नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । तल्लोक्रममा दीपक डुम्रेले ५८ बलमा १ छक्कासहित २६ रनको योगदान दिए । सुभाष भण्डारीले २४ बलमा २० रन जोडे । आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे ।
नेपालले शीर्षक्रमका दुई ब्याटर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमै गुमाएको थियो । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रन बनाउन सके । उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ रनमा आउट भएका थिए । नेपालले २६ रन एक्स्ट्रा पाएको थियो । गुल्सन झाले ४७ बलमा १८ रन बनाए ।
पाकिस्तानका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । उनले पाकिस्तानको सिनियर टोलीबाट समेत खेलेका छन् । अहमद हसन र उबेद साहले २–२ विकेट लिए ।
नेपालले न्युजिल्यान्डविरुद्धको पहिलो खेलबाट टोलीमा तीन परिवर्तन गरेको थियो । ओपनर दीपक बोहोरा, मध्यक्रम ब्याटर दिपक बोहोरा र स्पिनर तिलकराज भण्डारी टोलीबाट बाहिर रहँदा विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ता टोलीमा आएका थिए ।