स्व. तारा देवीको स्मृतिमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान २०८०’

भक्तपुर, माघ १०
तारा देवी स्मृति फाउन्डेसनले मंगलवार स्व. तारा देवी श्रेष्ठको १८ औँ पुण्य स्मृतिका अवसरमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान’ कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डौँ महानगरपालिका, टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका लगायतको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा डेढ दर्जनभन्दा बढी वाद्यवादक समूहको सहायतामा एक दर्जनभन्दा बढी गायक गायिकाले तारादेवीद्वारा स्वरबद्ध गरिएका गीत गाउनुभएको थियो ।
कार्यक्रमको शुरुवातमा रत्न समशेर थापाको रचना तथा संगीत नातिकाजी÷शिव शंकर रहेको ‘मुस्कानका लहरहरु’ बोलको गीतलाई गायक सन्जिव आले मगर र गीता पाण्डेले प्रस्तुत गर्दै कार्यक्रमस्थललाई तारादेवीमय बनाएको थियो । प्रस्तुतिकै क्रममा निशा देसारले विश्व बल्लभको शब्द तथा नातिकाजीको संगीत रहेको ‘शुभकामना’ प्रस्तुत गर्दा माहोल मन्त्रमुग्ध बनाएको थियो ।
कार्यक्रममा गायिकाहरु निशा देसार, गीता पाण्डे, जीना रसाईली, त्रितिया गुरुङ, बबिना भट्टराई देखि शुधा शेर्पा, प्रस्तुति खनाल, अन्जुली हमाल, अग्रिमा रिजाल सम्मका कलाकारहरुले सुमधुर गीत पस्केका थिए । गायिका शर्मीला लामाले धर्मराज थापाको शब्द तथा नातिकाजीको संगीतमा रहेको तारादेवीको ‘कालीपारे दाइ कति राम्रो’ गीत गाउनुभयो ।
कार्यक्रममा ६ वटा युगल प्रस्तुति गरिएको थियो । जसमा किरण खरेलको रचना, दिपक जंगमको संगीत रहेको र दिपक जंगम तथा तारा देवीको स्वर रहेको ‘उनले अङगालो हालेर’ बोलको गीत गायक अजर जंगम तथा गायिका जीना रसाईली, किरण खरेलको शब्द तथा अम्बर गुरुङको संगीत रहेको ‘तिम्रो नाम अझै छ ओठमा’ बोलको गीत अनिल सुनाम तथा बबिना भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।


राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द तथा नातिकाजी श्रेष्ठको संगीत रहेको ‘फुलको थुंगा’ गीतको गीति नृत्य अनुजा अधिकारी, अस्मिता ढकाल र सलिना मिश्रले प्रस्तुत गर्दा कार्यक्रमका अधिकांशको आँखा रसाएका थिए ।
चांदनी शाहको शब्द तथा नातिकाजी श्रेष्ठको संगीत रहेको ‘उकाली ओरालीहरुमा’ अन्जना श्रेष्ठले प्रस्तुत गर्नुभयो । रत्न समशेर थापाको शब्द तथा शुभ बहादुर सुनामको संगीत रहेको ‘फुलै फुलको मौसम तिमीलाई’ जीना रसाईलीले मिठास सहित गाउनुभयो । कुमार बस्नेतको सङकलन रहेको ‘कर्कलो गाभा’ गीत गीता पाण्डेले प्रस्तुत गर्दा माहोल निकै तातिएको थियो ।
कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्याउने तीन अग्रज सष्टाहरु बिशिष्ठ गीतकार बिश्व बल्लभ, बिशिष्ठ संगीतकार दिपक जंगम र बिशिष्ठ गायिका तारा थापालाई जनही २५ हजार, ताम्रपत्र साथै दोसल्ला सहित सम्मान गरिएको थियो । उहाँहरुलाई फाउन्डेसनका संरक्षक रवि श्रेष्ठसहितका पदाधिकारीहरुले सम्मान हस्तारण गर्नुभयो ।
सो अवसरमा तारा देवीको सांगीतिक व्यक्तित्वको चर्चा गर्दै सम्मानीतहरुले उनले स्वर दिएका सबै गीतको उचित संरक्षण हुन नसकेकोमा दुःख व्यक्त गरेका थिए । यसका साथै नेपाली सांगीतिक स्वर्णयुगलाई उचाइमा पुर्याउन तारा देवीको महत्वपूर्ण योगदान रहेको बताउँदैं फाउन्डेसनले तारादेवीको योगदानका बारेमा थप अनुसन्धान गरी सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।
तारा देवीको गीत र सिर्जनाको संरक्षण गर्न र नेपाली सांगीतिक क्षेत्रमा बचाइराख्न २०७२ सालमा तारादेवी स्मृति फाउन्डेसनको स्थापना भएको थियो ।