जिल्लाव्यापी १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

भक्तपुर, पुस २७
भक्तपुर जिल्लाव्यापी १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुक्रवारदेखी शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुरु भएको सो खेलकुद प्रतियोगितामा जिल्लाका चार पालिकाका करिव ५५० जना छात्रछात्राको सहभागिता रहेको छ ।
प्रतियोगितामा छात्रछात्राको एथलेटिक्स, कवड्डी, भलिबल र मार्सल आर्टसतर्फ उसु, तेक्वान्दो र कराँतेमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका खेलहरु भलिबल सूर्यविनायक गणेश मन्दिरस्थित सूर्यविनायक युथ क्लवको मैदान, कवड्डी लिवाली कभर्डहल, कराँते र उसु डेकोचा कभर्डहल, एथलेटिक्स संकटाको खेल मैदान नलिञ्चोक र तेक्वान्दो नेपाल तेक्वान्दो संघको कभर्डहल सिपाडोलमा भइरहेको समितिका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो ।
एथलेटिक्सतर्फ छात्र र छात्राको १०० मिटर, २०० मिटर, ४०० मिटर, १५०० मिटर, ३००० मिटर, १०० गुणा ४, ४०० गुणा ४, सटफुट, हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिन थ्रोका खेलहरु हुनेछ ।
प्रतियोगितामा पालिकास्तरिय राष्ट्रपति रनिङ्ग शिल्डमा प्रथम र द्धितिय हुने खेलाडीहरुले प्रतिष्पर्धा गर्न पाइने अध्यक्ष थापाले बताउनुभयो ।


प्रतियोगिताको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुका साथै खेल प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउनुभयो ।
उहाँले नंखेलस्थित प्लानिङमा रहेको ५८ रोपनी क्षेत्रफलको जग्गामा रंगशाला निर्माणको लागि जग्गा प्राप्तीको प्रक्रिया अघि बढाएको जानकारी दिँदैं यसैवर्ष रंगशाला निर्माणका लागि ४ करोड रुपैंया विनियोजन गरेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले मानसिक स्वास्थ्य र शारिरीक तन्दुरुष्टीका लागि पनि खेल अत्यावश्यक भएको बताउनुभयो । विद्यालयस्तरबाटै खेलकुदको विकास हुनु राज्यकै लागि उपलब्धी भएको भन्दै उहाँले यस प्रकारको प्रतियोगिताले खेल जगतमा होनाहार खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।