भक्तपुर राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचालको फाइनलमा

भक्तपुर, पुस २७
भक्तपुर जिल्ला बुद्धिचाल संघ र दोलखा चेस होम नेपाल छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी प्रतियोगितामा शुक्रबार सम्पन्न नकआउट चरणको दोस्रो खेलमा भक्तपुर कोशी प्रदेश बुद्धिचाल संघलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनल अन्तर्गत क्लासिकल चरण बराबरीमा सकिएपछि खेल टाइब्रेकर गएको थियो । जसमा भक्तपुर विजयी भयो । जित निकाल्ने क्रममा भक्तपुरले कोशीलाई टाइब्रेकरको चार वटै खेलमा पराजित गर्यो ।
क्लासिकल चरणमा भक्तपुरका युवा खेलाडी पुरुषोत्तम सिलवाल र कोशीका प्रकाश चन्द्र नेपाल तथा भक्तपुरका स्वर्णिम दुवाल र कोशीका मिसन दहालबीचको खेल बराबरीमा सकियो ।
भक्तपुरका राजेश कक्षपती कोशीका सविन चन्द्र घिमिरेसँग पराजित भएका थिए । अभिक शाहले कोशीका कृतिशारा अधिकारीलाई हराउँदै टिमलाई स्ट्यान्डर चरणमा बराबरी गर्दै खेललाई टाइब्रेकरमा पुर्याएका थिए ।
टाइब्रेकरमा भक्तपुरका पुरुषोत्तमले कोशीका प्रकाशलाई, विक्रमले सविनलाई, स्वर्णिमले मिसनलाई र अभिकले कृतिशारालाई हराएपछि टिम ४–० सहित फाइनलमा पुगेको हो ।
यसअघि पहिलो खेलमा दोलखाले मकवानपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनलमा पुग्ने क्रममा दोलखाले मकवानपुरमाथि २–५ र १–५ को जित हासिल गर्यो ।
जसमा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल र कृष्ण थापाबीचको खेल बराबरीमा सकिएको थियो । त्यस्तै सुश्रुत दाहाल सिन्देश्वर दाशसँग हारे भने मुहान नर्सिङ श्रेष्ठले सुदेन टुईटुईलाई र सुजना लोहनीले अनुस्ना गौतमलाई हराउँदै दोलखालाई फाइनल पुर्याएका थिए ।
ललितपुरस्थित तुल्सीलाल स्मृती प्रतिष्ठानमा जारी प्रतियोगिताको फाइनल शनिबार हुनेछ । राष्ट्रिय स्तरका उत्कृट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगितामा विजेताले २ लाख, दोस्रो टोलीले १ लाख २० हजार, तेस्रोले ६० हजार र चौथोले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक बोर्डमा विजयी हुने ४ खेलाडीले जनही १० हजार रुपैयाँ पाउँनेछन् । प्रतियोगितामा कुल ४ लाख ७० हजार रुपैयाँ पुरस्कार रहेको छ ।