राष्ट्रियसभामा एमालेको उम्मेदवारी लोकतन्त्रको सुदृढ गर्न – प्रदेस सांसद थापा

भक्तपुर, पुस २५
वागमती प्रदेशका सांसद किरण थापाले आसन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले उम्मेदवारी लोकतन्त्र सुदृढ गर्नका लागि भएको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार आयोजित सञ्चार–संवाद कार्यक्रममा सांसद थापाले निर्वाचन लोकतान्त्रिक पद्धती भएकाले लोकतन्त्रको सुदृढीकरणका लागि एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिएको बताउनुभएको हो ।
उहाँले एमालेको पहिचानका लागि पनि राष्ट्रिय सभामा एकल उम्मेदवारी दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिसभामा एमालेको उम्मेदवारीले राष्ट्रिय राजनीतिमा एमाले एक जिम्मेवार प्रतिपक्ष हो भन्ने सिद्ध गराउन आफ्नो अस्तित्वसँग सम्झौता नगरेको हो । राजनीतिमा एमालेको छुट्टै पहिचान रहेको स्मरण गराउन पनि एकल उम्मेदवारी दिएको हो ।”
उहाँले वागमती प्रदेश सरकारले बजेट बाँडफाँडमा निष्पक्षता देखाउन नसकेको आरोप समेत लगाउनुभयो । “विगतमा प्रतिपक्ष र सत्तापक्षबीच भएको सहमतिअनुसार प्रदेशस्तरीय बजेट बाँडफाँटमा समेत निष्पक्षता कायम गर्न नसकेकाले वागमती प्रदेश सरकार निकम्मा भएको छ,” उहाँले भन्नुभयो, “यो सरकारले जनप्रतिनिधिहरूलाई समेत विभेदकारी नीति लागू गरेको छ । जनु दोषपूर्ण नीतिका कारण वागमती प्रदेशका स्थानीय र राष्ट्रियस्तरका विकास निर्माणका कार्यहरू ठप्प रहेको अवस्था छ । विकासका मामिलामा राजनीति गर्न हुँदैन भन्ने एमालेको मान्यता रहेको छ ।”


सांसद थापाले प्रदेशसभामा पाँच वटा समिति गठन गरिएता पनि उक्त समितिको सभापति अहिलेसम्म चयन गर्न नसक्नुले समग्रमा संसदीय मूल्यमान्यताको सिद्धान्तलाई खिल्ली उदाएको बताउनुभयो । एमाले विधि र विधानअनुसार संसदीय समितिहरू निष्पक्ष र स्वतन्त्र ढंगले चल्नुपर्दछ भन्ने पक्षमा उभिने बताउँदैं उहाँले वागमती प्रदेशको गठबन्धन सरकार संसदीय विकासको संस्थागत विकासमा ध्यान नदिएर तदर्थवादमा बस्न रमाएको आरोप लगाउनुभयो ।
उहाँले गठबन्धन सरकारले एमाले र नेमकिपाका उम्मेदवारहरूले चुनाव जितेको क्षेत्रमा योजना, आयोजनाहरू सञ्चालन नगरेर ती तत् तत् क्षेत्रलाई योजनाबाट विमुख बनाइएको आरोप पनि लगाउनुभयो । वागमती प्रदेश सरकारको एकलौटी, एकाधिकारवादी चरित्रका कामकारवाहीबाट जनतामा प्रदेश र संघीयता भनेको सेतो हात्ती हो भन्ने टिप्पणीलाई बल पु¥याउने काम गरेको सांसद थापाको भनाइ छ ।
उहाँले भन्नुभयो, “गठबन्धनको प्रदेश सरकारको अदूरदर्शी कामले रणनीतिक सडकहरू, सिरुटार, बालकोट र दधिकोटमा सञ्चालित आयोजनाहरू अलपत्र अवस्थामा रहेको छ । ख्वप विश्वविद्यालय बनाउन पनि सबै एकजुट भएर लाग्नुपर्दछ । जनताको विकास र निर्माणका कार्यमा पार्टीगत रङले प्रश्रय पाउनु हुँदैन ।”
उहाँले एमाले प्रतिपक्षमा रहेर पनि सूर्यविनायक–धुलिखेल सडकका काम समयमै सक्याउन पर्छ भनेर हरेक सहयोग र समन्वय गरेर अगाडि बढिरहेकोे बताउनुभयो । उहाँले चुनावबाट निर्वाचित भएर आइसकेपछि राजनीतिक पार्टीको सदस्यलाई जस्तो व्यवहार नगरेर जनप्रतिनिधिको रूपमा समान र उचित व्यवहार गर्ने राजनीतिक संस्कारको आवश्यकता रहेको चर्चा गर्नुभयो ।