मध्यपुर थिमिमा शुरु भयो भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता, कृष्णकलाको राष्ट्रिय कीर्तिमान

भक्तपुर, पुस २५
भारोत्तोलन खेलाडी कृष्णकला बिष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । नेपाल भारोत्तोलन संघको आयोजनामा भक्तपुरको मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा मंगलवार शुरु भएको २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको पहिलो दिन नेपाल पुलिस क्लबकी कृष्णकलाले स्न्याच, क्लिन एण्ड जर्की र कुल गरी तीन वटा कीर्तिमान बनाएका हुन् ।
कृष्णकलाले महिला सिनियर ४९ केजी तौल समूहमा स्न्याचमा ५९, क्लिन एण्ड जर्कमा ७७ केजी र कूलमा १३६ केजी भार बहन गर्दै नयाँ कीर्तिमानका हुन । कृष्णकलाले पुलिसकै संगिता राईको नाममा रहेको किर्तिमान तोडेकी हुन । संगिताको नाममा स्न्याचमा ५९, क्लिन एण्ड जर्कमा ७६ र कुलमा १३५ केजीको कीर्तिमान रहेको थियो ।
यस तौल समूहमा नेपाल आर्मीकी सृजना तामाङले ११० केजी भार बहन गर्दै दोस्रो स्थान हासिल गरिन् भने एपीएफकी सबिना श्रेष्ठले ८४ केजी उठाएर तेस्रो भइन् ।
पुरुषतर्फ ५५ के जी तौल समूहमा दिलिप यादवले क्लिन एण्ड जर्कमा राष्ट्रिय कीर्तिमान बनाए । उनले क्लिनमा १०३ केजी भार उठाई नयाँ राष्ट्रिय कीर्तमान बनाएका हुन । दिलिपले स्न्याचमा ८२ केजी र कुलमा १८५ केजी भार उठाई उनको तौल समूहमा प्रथम स्थान हासिल गरे ।


आर्मीका दिपक बहादुर भण्डारीले स्न्याचमा ६३, क्लिन एण्ड जर्कमा ९० केजी उचाल्दै दोस्रो स्थान हासिल गर्दा ललितपुरका पुष्पलाल मोक्तानले स्न्याचमा ५६ केजी र क्लिन एण्ड जर्कमा ९० केजी भार उठाई तेस्रो स्थान हासिल गरे ।
पुरुष ४९ केजी तौल समूहमा सप्तरीका मोहन यादवले स्न्याचमा ६३, क्लिन एण्ड जर्कमा ८० केजी भार उठाई स्वर्ण पदक जिते । बर्दियाका विनयकुमार थारुले स्न्याचमा ३८ र क्लिन एण्ड जर्कमा ४८ केजी उठाई दोस्रो र कैलालीका सिद्धार्थ चौधरीले स्न्याचमा ३२ केजी र क्लिन एण्ड जर्कमा ४० केजी भार उठाई तेस्रो भए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले खेलमा जस्तै राजनीतिमा पनि नियम पालना गर्नुपर्ने र गल्ती गरेपनि सच्चिने अवसर दिनुपर्ने बताएका थिए ।
अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, एसियन भारोत्तोलन महासंघ र नेपाल भारोत्तोलन संघको नियम अनुसार सञ्चालित हुने प्रतियोगिता पुस २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभागीय टोली र देशभरका गरी दुई सय ५० खेलाडीको सहभागिता रहेको संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल भारोत्तोलन संघले १९औं एसियाडमा तीन सय केजी भन्दा माथिको भार बहन गर्ने दुई कीर्तिमानी खेलाडी र युथ एसियन च्याम्पियनसिपमा पदक विजेता खेलाडीसहित ६ जनालाई सम्मान गरेको छ ।
१९औं एसियाडमा ३०३ केजी भार बहन गरेका सागर भण्डारी र ३०१ केजी भार बहन गरेका विशाल सिंह विष्टलाई सम्मान गरिएको हो । यस्तै युथ एसियन च्याम्पियनसिपमा कांस्य पदक जितेका हेमन्त पाललाई पनि सम्मान गरियो । यसैगरी १९औं एसियाडका प्रशिक्षक जीवन गौतम र म्यानेजरमा राम सुन्दर श्रेष्ठ तथा अर्का प्रशिक्षक सञ्जय महर्जनलाई सम्मान गरिएको हो ।