डोलेश्वरमा भारतीय भक्तजनको भागवत महायज्ञ

भक्तपुर, पुस २४
भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला, भारत महाराष्ट्रस्थित चैतन्य सेवा आश्रम र भारतकै गुजरातस्थित माँ कालीधामले सोमवारदेखी संयुक्त रुपमा भागवत कथा ज्ञान महायज्ञ शुरु गरेको छ ।
भागवत कथा ज्ञान महायज्ञको वाचन केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको सहयोगमा भारतबाट आउनुभएका परमपूज्य चैतन्य सेवा आश्रम महाराष्ट्रका संरक्षक ब्रम्हचारी परम पूज्य सन्त श्री सन्तोष चैतन्य जी महाराजले गर्नुभएको छ ।
महायज्ञमा भारतबाट आयोजकको टोलीमा गुरु सहित करिव २०५ जनाको सहभागिता रहेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो । उनीहरुलाई समितिले निःशुल्क बसोवास एवम् सुरक्षाको व्यवस्था समितिले गरेको छ ।
महायज्ञको उद्घाटन गर्दै वागमति प्रदेशका सांसद किरण थापाले भारतको केदारनाथका मठाधिश भिमाशंकर महाराजले सन् २००९ मा डोलेश्वर मन्दिरलाई केदारनाथको शिर भाग रहेको घोषणा गरेपछि यसको महिमा र चर्चा चुलिएको बताउनुभयो ।
उहाँले पछिल्लो समय डोलेश्वरमा भारतीय भक्तजनको बढ्दो रहेको बताउँदैं अहिले सञ्चालन हुने महायज्ञले पनि भारतीय भक्तजनको आकर्षण बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । २०७२ सालको महाभूकम्पले भत्किएपछि मन्दिरको पुर्ननिर्माण गरिएको बताउदै उहाँले दाताहरुको दान र भेटीकै मद्धतले मन्दिर, चौबन्दी सत्तल, बिभिन्न मन्दिरहरु लगायतका संरचनाहरु निर्माणहुने क्रम जारी रहेको बताउनुभयो ।
उहाँले भारतीय भक्तजनले मन्दिरको चारैतिर चाँदीको ढोका हालिदिने घोषणा गरेको जनाउँदैं महाशिवरात्रीमा पनि यहाँ भारतबाट आउने बाबा र एवं भक्तजनको भीड हुने गरेकोले डोलेश्वर पवित्र तीर्थस्थलको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडासदस्यहरु, कार्यपालिका सदस्यहरु, मन्दिर व्यबस्थापन समितिका अध्यक्ष धर्मराज बस्नेत, समितिका सचिव हरिशरण बस्नेत तथा पदाधिकारीहरु लगायतको सक्रिय सहभागिता रहेको थियो ।