अन्तर सहकारी बुद्धिचालमा शंखधरका रवि प्रथम

भक्तपुर, पुस २३
प्रथम माछापुच्छ्रे अन्तर सहकारी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि शंखधर वचत तथा ऋण सहकारी संस्थाका रवि श्रेष्ठले जितेका छन । मध्यपुर थिमि–४ बालकुमारीस्थित माछापुच्छ्रे वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सो प्रतियोगितामा रविले अपराजित रहँदै उपाधि जितेका हुन ।
रविले सात चरणको खेलमा पाँच जित र दुई खेलमा बराबरी परिणाम निकाल्दै ६ अंक सहित उपाधि हात पारेको हो । उनलाई पछ्याउदै ६ अंक प्रोग्रेसिभको आधारमा दर्पण वचत तथा ऋण सहकारी संस्थाका हेम भण्डारीले दोश्रो स्थान हासिल गरे । ओस्ला सहकारीका हरिचन्द्र होना ५.५ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे ।
यसैगरी आयोजक माछापुच्छ्रे सहकारीका शुन्दर श्रेष्ठ सहित वैभव सहकारीका उज्वल श्रेष्ठ, किसान सहकारीका जेन श्रेष्ठ, भुँलाखेल सहकारीका सयुष अमात्य, सिद्धार्थ सहकारीका रामहरि कार्की समान ५÷५ अंक जोडेर पाँचौ देखि आठौं स्थानमा रहन सफल बने । बालकुमारी साकोस र विश्वास साकोसका पदमकृष्ण श्रेष्ठ र रुविन श्रेष्ठले समान ४.५ अंक प्राप्त गर्दै नवौं र दशौं स्थान हासिल गरेका छन् ।


यस्तै प्रतियोगिताको सिनियर सिनियर एज क्याटेगोरी अन्तर्गत नव आदर्श साकोसका श्याम राजवाहक प्रथम र सिद्धार्थ साकोसका हरिभक्त श्रेष्ठ दोश्रो हुन सफल भए । यु–१६ तर्फ शुभ दिव्येश्वरी सहकारीका श्रृजन श्रेष्ठ प्रथम र आयोजक माछापुच्छ्रे सहकारीका एपेक्स श्रेष्ठ द्वितीय भए ।
विजेता खेलाडीहरुलाई पुरस्कृत गर्दै नेपाल बुद्धिचाल महासंघका केन्द्रीय प्रतिनिधि निरञ्जन प्रजापतिले आम नागरिकहरुमा सहकारी संस्था प्रति नकारात्मक भावना श्रृजित भइरहेको अवस्थामा समुदाय प्रति आधारित सहकारीहरुले चेस खेल मार्फत रचनात्मक क्रियाकलाप गर्नु महत्वपूर्ण कार्य भएको बताए ।
आयोजक सहकारीका अध्यक्ष दिप सुन्दर श्रेष्ठले धेरै सहकारी संस्थाले जीवन निर्वाह गर्न प्रत्यक्ष योगदान पु¥याउदै आएको भएतापनि केही ठूला संस्थाहरुको अनियन्त्रित रुपमा फैलाउने खराब सपनाले सहकारी बदनाम भइरहेको अवस्थामा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत चेस खेल मार्फत समूदायमा सकारात्मक सन्देश प्रवाहको लागि प्रतियोगिता आयोजना गरेको बताए । आगामी वर्ष अझ बृहत् रुपमा प्रतियोगिता आयोजना गर्ने उनले प्रतिवद्धता जनाए ।