भक्तपुर चेम्बरका सदस्यहरुलाई अभिमुखीकरण

भक्तपुर, पुस २२
भक्तपुर चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरुलाई चेम्बरले प्रदान गर्दै आएका विविध सेवा सुविधाहरुका बारेमा अभिमुखीकरण गरेको छ । मध्यपुर थिमिमा आइतवार आयोजित उक्त अभिमुखीकरणमा चेम्बरबाट सदस्यहरुले लिन सक्ने लाभका विषयमा सदस्यहरुलाई सुसुचित गराएको थियो ।
सो अवसरमा भक्तपुरका चेम्बरका अध्यक्ष कविदास श्रेष्ठले व्यवसायिकता सिर्जना हुने खालका युवा लक्षित कार्यक्रमहरु सञ्चालनमा ल्याई स्वरोजगारलाई प्रोत्साहन गर्ने लगायत बैदेशिक रोजगारको विकल्पको रुपमा साना तथा मझौला उद्यमीहरुको संख्या बढाउनमा चेम्बरले विशेष भूमिका खेल्ने बनाउनुभयो ।
उहाँले व्यवसायिक अवसर पहिचानका लागि तथ्यांक आवश्यक पर्ने भएको हुँदा चारवटै नगरपालिकाहरुमा व्यवसायिक तथ्यांक अध्यावधिक गराउन चेम्बरले विशेष पहल गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा सहभागीहरुबाट कर प्रशासनमा सुधारका लागि व्यापक पहल गरिनुपर्ने, वस्तुगत संघहरुको नेतृत्व क्षमता विकासका लागि तालिमहरुको आयोजना गरिनुपर्ने, नेतृत्व लगायत व्यवसायिक विकासजस्ता तालिम गोष्ठीहरुको आयोजना गरिनुपर्ने, आयात निर्यातमा लाग्दै आएको करका विषयमा पुनविर्चारका लागि पहल गरिनुपर्ने, निकासी करमा ब्यापक छलफल हुनुपर्ने र तथ्यांकहरु अध्यावधिक हुनुपर्ने जस्ता विषयहरुमा चेम्बरबाट पहल गर्न सुझाव दिएका थिए ।
भक्तपुरका चेम्बरका महासचिव ज्ञानेन्द्र मानन्धरले सहभागीहरुबाट आएको सल्लाह सुझावहरुलाई समेट्दै संस्थाको नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताउनुभयो ।
कार्यक्रममा चेम्बरका गतिविधिहरु लगायत चेम्बरले उपलब्ध गराउदै आएका सेवा सुविधाहरुका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यले प्रस्तुतीकरण गर्नु भएको थियो ।