एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ माघ १२ गते हुने

भक्तपुर, पुस २२
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ अर्को महिना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतवार पत्रकार सम्मेलन गर्दै आगामी माघ १२ गते एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ आयोजना गर्ने घोषणा गरेको हो ।
अवार्डमा विगतमा जस्तै यस वर्ष पनि ९ विधा नै समावेश गरिएको छ । जसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छन् ।
विधागत अवार्ड वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन अर्को कार्यक्रममा सार्वजनिक गरिने र त्यसका लागि मञ्चको खेलाडी छनोट समितिले काम गरिरहेको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।
वर्ष २०७९ प्राप्त गरेको सफलताका आधारमा पुरुष, महिला, युवा, प्रशिक्षक विधाको मनोनयन गरिनेछ । लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई समान ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउनेछन् ।
पत्रकार सम्मेलनमा मञ्चले अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक अभिमन्यू गोल्छा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलले १५औं वर्षदेखि लगातार अवार्डलाई मुख्य प्रायोजन गर्दै आएको छ ।
कार्यकारी निर्देशक गोल्छाले खेलकुद विकासका लागि निजी क्षेत्रको महत्व आत्मसाथ गर्दै पल्सरले यस वर्ष पनि प्रायोजनलाई निरन्तरता दिएको बताए । उनले भने, ‘हामी गर्व महसुस गर्छौं, हामी अब एक परिवार हौं । यस प्रायोजन हाम्रो नैतिक दायित्व हो। यो अवार्ड पल्सर ब्रान्डको पर्यायवाची नै भइसकेको छ ।’
गत वर्ष पुरुषतर्फ फुटबलका अञ्जन विष्ट, महिलातर्फ भलिबलकी अरुणा शाही प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, युवामा मनीष डाँगी उत्कृष्ट भएका थिए । पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी थिइन् ।
स्पेसल अवार्ड दानबहादुर तामाङ र उनकी पत्नी मायादेवी मोक्तानलाई प्रदान गरिएको थियो । उनीहरू ब्याडमिन्टनका रत्नजित, सरादेवी र नङ्सदेवीका मातापिता हुन् । दानबहादुर आफैमा पनि ब्याडमिन्टनका भेट्रान खेलाडी हुन् ।
पारा एथलिट सम्मान तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पिक रघुराज वन्तलाई प्रदान गरिएको थियो ।