पुस २७ गते भक्तपुरमा साङ्गितिक कार्यक्रम हुने

भक्तपुर, पुस २२
विराट नेपालभाषा साहित्य सम्मेलन गुथिले यही पुस २७ गते भक्तपुरको कमलविनायकमा साङ्गितिक कार्यक्रम गर्ने भएको छ । भाषा, साहित्यको क्षेत्रमा कार्य गर्दै आइरहेको गुथिको शनिवार बसेको बैठकले पुस २७ गते कमलविनायकको स्टार बैंक्वेट साङ्गितिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा उपत्यकाका तीनै जिल्लाका गीतकार, गायकार एवं कलाकारहरुको प्रस्तुत रहने गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले जानकारी दिनुभयो ।
गुथिका सचिव प्रदिप शाक्यले कार्यक्रममा सहभागी हुन ६ सय रुपैंयाको टिकट पनि वितरण भइरहेको जानकारी दिंदै सम्पूर्ण महानुभावहरु सहभागी हुन आग्रह गर्नुभयो ।
विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरको ऐतिहासिक संस्थाको रुपमा रहेको छ । गुथिले प्रत्येक वर्ष विराट नेपालभाषा साहित्य सम्मेलन गर्दै आएको छ ।