बेरोजगारी समस्याले जनता राज्यप्रति आक्रोशित –पूर्व सभामुख सापकोटा

भक्तपुर, पुस २२
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले बेरोजगारी समस्याले जनता राज्यप्रति आक्रोशित बन्दै गएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको आयोजना, प्रेस सेन्टर भक्तपुरको समन्वय र सूर्यविनायक नगरपालिका एवं मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा शनिवार सम्पन्न ‘ब्यवस्था बलियो बनाउन पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रममा सापकोटाले बेरोजगारीका कारण राज्यप्रति जनताको आक्रोश बढेको बताउँदैं समाजवादको आधार बनाउन पनि रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको हो ।
“रोजगारीको अवसर सिर्जना गरी कम्तिमा परिवारका एक सदस्यलाई राज्यले रोजगारीको ग्यारेन्टी गर्नुपर्छ,” उहाँले भन्नुभयो, “बेरोजगारी समस्याले राज्यप्रति जनता सुन्तुष्ट बन्न सकेको छैन । मुलुकलाई समाजवादतर्फ लैजान यसको आधार बलियो बनाउन पनि बेरोजगारी समस्या हल गर्नुपर्छ ।”
सत्तारुढ दल नेकपा(माओवादी केन्द्र)को प्रचार विभाग प्रमुख समेत रहनुभएका सापकोटाले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिमा केन्द्रित रहेको दावी समेत गर्नुभयो । प्रेस सेन्टरमा आवद्ध पत्रकारले सोबारे जनतालाई बुझाउन नसकेको भन्दै उहाँले आधुनिक सञ्चारको विकास संगै प्रचारमा अनलाइन र सामाजिक सञ्जालको सदुपयोग गर्न नसकिएको गुनासो गर्नुभयो । यसले गर्दा जनताका पक्षधरको पहलबारे जनता अनभिज्ञ भएका र बिरोधीले फैलाएका अफवाहलाई साँचो ठानेर भ्रमित भैरहेका उहाँको भनाइ छ ।


सापकोटाले कम्युनिस्ट पार्टीमा विचारको विकास र रुपान्तरण हुनुपर्नेमा जोड दिदै समाज बदल्न हिड्ने नेता कार्यकर्ता पहिला आफू बदलिनु पर्नेमा प्रष्ट पार्नुभयो । माओवादी केन्द्रको साँस्कृतिक, राजनीतिक र साङ्गठनिक पुनर्गठन हुने खुलासा गर्दै उहाँले नेपाली मौलिक विज्ञान र दर्शन बिकास गर्ने र सामाजिक न्याय सहितको बैज्ञानिक समाजवादी बाटो तय गर्ने उद्घोष समेत गर्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुरका नेता दिलिप प्रजापति भीष्मले जनतामा राजनीतिप्रति वितृष्णा बढेको बताउदै पार्टीका नेता कार्यकर्ता नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताउनुभयो । माओवादीले ४ महिने रुपान्तरण अभियानमार्फत जनताको अपेक्षा अनुरुप पार्टी र कार्यकर्ताको रुपान्तरणमा जोड दिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले सरकारले उर्जा र कृषिलाई समृद्धिको आधार मानेर नयाँ नीति अपनाउन लागिएको जानकारी दिनुभयो । जलबिद्युत उत्पादन गर्दा प्रयोग हुने पानीलाई अनिवार्य रुपमा सिँचाइमा उपयोग गर्नुपर्ने सरकारी नीति बारे उहाँले जानकारी गराउँदैं आचार्यले १० हजार मेगावाट विद्युत भारतलाई बेचेर वार्षिक ९ खर्ब आम्दानी हुने अवस्था बनाउन सक्नु सरकारको उपलब्धी भएको बताउनुभयो ।
वैज्ञानिक भूमिसुधार मार्फत भूमिहिनलाई संविधान संसोधन गरेर भएपनि भूमिको अधिकार दिने तयारी गरिरहेको जानकारी दिँदैं उहाँले सरकारले जनताको पक्षमा गरेको काम प्रचार हुन नसक्दा ब्यवस्था बिरोधीहरुले टाउको उठाउन खोजेको टिप्पणी गर्नुभयो । उहाँले प्रचारको मोर्चा प्रभावकारी बनाउन समाजवादका पक्षधर पत्रकारहरुले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
माओवादी केन्द्रको स्कूल बिभागका सदस्य एवं प्रेस सेन्टरका पूर्व नेता बलराम थापाले माओवादीहरुमा जनयुद्धको जस्तै उत्साह र त्याग नभएसम्म जनताले विश्वास नगर्ने बताउनुभयो । माओवादीसंग सक्किने कि सच्चिने भन्ने दुई बाटो मात्र बाँकी भएको भन्दै उहाँले माओवादी सच्चिए मात्र देशमा समाजवाद आउने विचार ब्यक्त गर्नुभयो ।

प्रेस सेन्टर नेपालका उपाध्यक्ष निर्मल ज्ञवालीले विचार र राजनीतिका लागि बलिदानी दिनसक्ने सामथ्र्य प्रदर्शन गर्नुपर्ने बेला आइसकेको बताउनुभयो । अर्की उपाध्यक्ष गङ्गा बरालले प्रेस सेन्टरका पत्रकारले सामजवादी विचार स्थापित गर्नुपर्ने बताउनुभयो ।
महासचिव सन्तोष पौडेलले संगठनलाई चुस्तदुरुस्त बनाउने बताउदै यसले विचार प्रवाहलाई ससक्त बनाइ ब्यवस्था बलियो बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उपत्यकाका अध्यक्ष नवराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठ, बागमती प्रदेश सरकारको मूख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बराल, नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउने, पत्रकार महासंघ काठमाडौका अध्यक्ष सूर्य सुवेदी, ललितपुर अध्यक्ष सागर न्यौपाने, प्रेस सेन्टरका भक्तपुर अध्यक्ष संजीप घिमिरे शुभचिन्तक, ललितपुर अध्यक्ष रामहरि कार्की, काठमाडौ अध्यक्ष अजित अधिकारी र काभ्रे अध्यक्ष रोजन तामाङ, प्रेस सेन्टर उपत्यका महासचिव रोजिना थापा, उपाध्यक्ष सागर पन्तलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरुलाई सूचना प्रविधिविज्ञ सुभम ढकालले डिजिटल साक्षरताबारे अभिमुखीकरण गर्दै सामाजिक संजालमार्फत संदेश प्रवाह प्रभावकारी बनाउने बारे प्रशिक्षण दिनुभएको थियो ।